Loktantra Khabar National Weekly
Ad

सर्लाहीका प्रतिभावान विद्यार्थी चन्दन साहले बनायो वातावरण मैत्री EV बाइक

लोकतन्त्र खबर
४ असार २०८२

मनोज यादव—
सर्लाही,असाढ ४ सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न=१, औरहीका चन्दन साहले विद्युतचालित (EV) बाइक निर्माण गरेर मधेस प्रदेशमा प्रविधिको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन्। लालबन्दी नगरपालिका वडा न-९,बस्तीपुर स्थित आइडियल को-एड एकेडेमी  कक्षा १० मा अध्ययनरत चन्दनले जम्मा ३० हजार रुपैयाँको लागतमा यो इभी बाइक निर्माण गरेका हुन्।

 

उनले बनाएको बाइक एकपटक पूर्ण चार्ज गरेपछि ६० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ, र केवल ३ घण्टामा चार्ज गर्न सकिन्छ। यसले पेट्रोलियम इन्धनको विकल्पको रूपमा वातावरणमैत्री र सस्तो सवारी साधनका रूपमा उदाहरण प्रस्तुत गरेको छ।

 

मंगलबार विद्यालय परिसरमै आयोजित पत्रकार सम्मेलनमार्फत चन्दनले निर्माण गरेको EV बाइकको प्रदर्शन तथा परीक्षण गरिएको थियो। परीक्षणमा बाइक सफलतापूर्वक सञ्चालन भएपछि उपस्थित सम्पूर्ण व्यक्तिहरूले चन्दनको प्रयासको प्रशंसा गरेका थिए।

 

चन्दनको यो सिर्जनशील कार्यको उच्च मूल्याङ्कन गर्दै हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारले उनलाई कदरपत्र प्रदान गरेका छन्। मेयर पंजियारले भने, “यस्ता प्रतिभालाई प्रोत्साहन गर्नु हाम्रो दायित्व हो। चन्दन जस्ता विद्यार्थीहरूकै कारण देशले प्राविधिक क्षेत्रमा भविष्य देखिरहेको छ।”

 

यसअघि सोही विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूले मधेस प्रदेशमै पहिलोपटक ‘स्पिकिङ्ग एण्ड वर्किङ्ग रोबोट’ (बोल्ने र चल्ने रोबोट) र EV ट्याक्टर निर्माण गरिसकेका छन्। विद्यालयका प्राधानाध्यापक राजु पंजियारका अनुसार, “हामी विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र नवप्रवर्तनशील सोचका साथ शिक्षित बनाउनेतर्फ लागिपरेका छौं। चन्दनको सफलता हाम्रो शिक्षण पद्धतिको सकारात्मक परिणाम हो।”

 

चन्दनलाई पढाउने शिक्षक, शिक्षिकाहरुले उनी नयाँ कुराको बारेमा जान्न खोज्ने जिज्ञासु, सरल स्वभाव र प्राविधिक क्षेत्रमा रुचि राख्ने विद्यार्थी भएको बताए। चन्दनको सफलताले शिक्षक,शिक्षिका मात्र नभइ उनका सहपाठीहरु पनि  निकै उत्साहित भएका छन् ।

 

उनले भविष्यमा सबै भेगमा उपयोगी हुने विद्युतीय सवारी निर्माण गर्न कारकाखाना खोल्ने योजना रहेको बताए।
चन्दन साहजस्ता प्रतिभाहरूलाई सहयोग, प्रोत्साहन र आवश्यक स्रोतसाधन प्रदान गरिएमा उनीहरूले देशको प्रविधिमूलक भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छन्।

प्रतिक्रिया दिनुहोस्: