Loktantra Khabar National Weekly
Ad

ईश्वरपुरमा टिपरको ठक्करबाट एक प्रहरी जवान गम्भीर घाइते

लोकतन्त्र खबर
२१ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही, जेठ २० सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फुलजोरचोकमा मंगलबार दिउँसो   टिपरको ठक्करबाट एक प्रहरी जवान गम्भीर घाइते भएका छन्।

लालबन्दीबाट पूर्वतर्फ गइरहेको ना १ क ८५२० नम्बरको टिपरले दिउँसो करिब सवा १ बजे दक्षिण बयलबासबाट उत्तरतर्फ राजमार्गमा जाँदै गरेको बीआर ०१ एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परेका मोटरसाइकल चालकको परिचय खुलेको छैन। तर, घटनास्थलमा फेला परेको परिचयपत्रअनुसार उनी सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत अन्दाजी २५–३० वर्षका प्रहरी जवान मिनबहादुर दानी रहेको प्रहरीको प्रारम्भिक अनुमान छ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्कालै लालबन्दीस्थित मोडल अस्पतालमा उपचारका लागि लगिएको छ।

टिपर चालक लालबन्दी नगरपालिका–१७, रानीगञ्जका ३६ वर्षीय नारायणदत्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनको सवारी चलाउँदा मादकपदार्थ सेवन नगरेको पुष्टि गरे पनि सवारी कागजात साथमा नभएको जनाएको छ।

हाल श्रेष्ठलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: