Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा तसलिम अंसारीमाथि कुटपिट, पीडित पक्षको रिहाइको मागसहित सिडियोलाई ज्ञापनपत्र

लोकतन्त्र खबर
८ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही, जेठ ७  सर्लाही जिल्लाको पर्सा गाउँपालिका     वडा नं. ५ निवासी तसलिम अंसारी र उनका भाई सलिम अंसारीमाथि गत शनिवार कुटपिट भएको घटनाले स्थानीय स्तरमा चासो बढाएको छ। घटनापछि पीडित पक्षले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडितलाई प्रहरी हिरासतबाट रिहा गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।

 

पीडित परिवारका अनुसार तसलिम अंसारीकी छोरीको विवाह जेठ ८ गते सोही पालिकाको वडा नं. ६ निवासी लाल महम्मद अंसारीका छोरासँग तय भएको थियो। विवाहको तयारीस्वरूप गरगहना बनाउने विषयमा शनिवार बिहान स्थानीय सुनचाँदी पसले राजेन्द्र साह सोनारसँग वादविवाद हुँदा विवादले कुटपिटको रुप लिएको थियो।

 

प्रत्यक्षदर्शीहरूको भनाइमा पसले साह सोनारले स्थानीय कमलेश साह सोनार, पप्पु कुमार यादव र राहुल कुमार महतोको सहयोगमा तसलिम अंसारी र उनका भाईलाई सुगुरको खोरमा थुनेर निर्घात कुटपिट गरेका थिए।

 

प्रहरीका अनुसार घटनामा संलग्न राजेन्द्र साह सोनारसहित चार जनामाथि धर्म सम्बन्धी कसुर र अमानवीय अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यता तसलिम अंसारी र दिल मोहम्मद अंसारीलाई समेत अभद्र व्यवहारको आरोपमा हिरासतमा राखिएको डिएसपी सरोज राईले जानकारी दिए।

 

पीडित पक्षले मंगलबार  मलंगवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूमाथि पिडकहरूबाट दिनरात धम्की, घर वरिपरि विष्फोटक पदार्थ पड्काउने, अपहरण गर्ने जस्ता धम्कीसहित मानसिक त्रास सिर्जना गरिएको गुनासो गरेका छन्। प्रहरीमा दिएको मुद्दा फिर्ता लिन भन्दै उनीहरूले यस्ता घम्कीहरु दिएको पिडित पक्षले बताए ।“ मेरो श्रीमान् र देवर निर्दोष हुँदा हुँदै अन्य अपराधीसरह हिरासतमा बस्नुपरेको छ, छोरीको विवाह समेत रोकिएको छ,” पीडितकी श्रीमतीले पत्रकारहरू समक्ष दुख व्यक्त गरिन्।

 

पीडित पक्षले स्थानीय प्रशासनसँग पीडितको रिहाइ र दोषीमाथि निष्पक्ष अनुसन्धानसहित कडा कानुनी कारबाहीको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्: