
लोकतन्त्र समाचारदाता-
सर्लाही, बैशाख ३१ सर्लाहीको इश्वरपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।
संस्थाको २५ वर्षे यात्राको सफलताको उपलक्ष्यमा आयोजित कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित सामाजिक उत्तरदायित्व कार्यक्रम सार्वजनिक गरिएको छ। सहकारीले नारायणी एकेडेमीसँग सहकार्य गरी आफ्ना सदस्यका बालबालिकालाई शिक्षा क्षेत्रमा विभिन्न छुट उपलब्ध गराउने जनाएको छ। सम्झौता अनुसार भर्ना शुल्कमा १०० प्रतिशत, मासिक शुल्कमा २५ प्रतिशत छुट दिइनेछ। साथै, दलित सेयर सदस्यका १० जना बालबालिकालाई पूर्ण रूपमा मासिक शुल्क मिनाहा गरिनेछ भने आदिवासी जनजाति सदस्यका १० जना बालबालिकालाई ५० प्रतिशत छुट दिइनेछ।
स्वास्थ्य सेवाको पहुँच सरल बनाउने उद्देश्यले शुभ प्रिया हेल्थ केयरसँगको सहकार्यमा ओपिडी शुल्कमा ५० प्रतिशत, ल्याब परीक्षणमा ३० प्रतिशत, बेड शुल्कमा १० प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष बेनी बहादुर कार्कीलाई र संस्थापक उपाध्यक्ष स्व. चेतनाथ मैनालीका भतिजा प्रकाश मैनालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। संस्थापक कार्की द्वारा थोरै सदस्यबाट सुरु गरिएको संस्था हाल ३ हजारभन्दा बढी सेयर सदस्यमा रूपान्तरण भएको जनाइएको छ।
उक्त कार्यक्रममा नारायणी एकेडेमीका संचालक दुर्गानन्द झा र शुभ प्रिया हेल्थ केयरका संचालक डा. अशोक कुमार सर्राफ तथा डा. शुभ प्रिया साहलाई पनि कदरपत्र प्रदान गरिएको थियो।
मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहको अध्यक्षता संस्थाका अध्यक्ष विष्णुहरि मैनालीले गरेका थिए। कार्यक्रममा सहकारीका पदाधिकारी, पत्रकार, सेयर सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।