
लोकतन्त्र समाचारदाता—
ललितपुर, २१ बैशाख ‘सीता जन्ती’ को अवसरमा साहित्यकार तथा राष्ट्रिय समाचार समितिकी पत्रकार अर्चना झालाई ‘सीता’ उपाधिद्वारा सम्मान गरिएको छ। मैथिली भाषामा ‘अर्चनाकृत रामायण’ लेखेकी झालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सम्मान गर्नुभएको हो।
मिथिला संस्कृति समाज, नेपालको आयोजनामा सम्पन्न ‘सीता प्राकट्य दिवस समारोह २०८२’ मा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई पनि सोही उपाधि प्रदान गरिएको थियो। समाजका अध्यक्ष वीरेन्द्र ठाकुरका अनुसार मिथिलाकी आदर्श पात्र सीता माताको स्मृतिमा योगदान गर्ने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान गरिँदै आएको छ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीता मातालाई आदर्श नारीको रूपमा स्मरण गर्दै मिथिला संस्कृति र बौद्ध संस्कृतिबीचको सम्बन्ध थप मजबुत बनाउन सीता–सिद्धार्थ खण्डमार्फत हुलाकी मार्गको विकास आगामी बजेटमा समावेश गरिने जानकारी दिनुभयो।
“सीताप्रति हाम्रो आदरभाव तब मात्र सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं,” मन्त्री पाण्डेले भन्नुभयो।
कार्यक्रम संयोजक अमित कुमार दासले ‘सीता प्राकट्य दिवस’ को अवसरमा विभिन्न विचार–मन्थन, परिचर्चा र सम्मान कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउनुभयो।