
लोकतन्त्र समाचारदाता—-
मलंगवा, बैशाख १०
सर्लाहीका स्थानीय पत्रकार तथा मिडिया हाउसका प्रतिनिधिहरूका लागि आयोजित दुई दिने क्षमता अभिवृद्धि तालिम बुधबार मलंगवामा सम्पन्न भएको छ। “Enhance the Capacity of Media House and Local Journalism” परियोजना अन्तर्गत नेपाल पत्रकार महासंघ सर्लाही शाखासँगको समन्वयमा सुनौलो सिसौट नेपाल र इन्टरनेशनल एलर्टको साझेदारीमा उक्त तालिम सञ्चालन गरिएको हो।
अनुसन्धानमूलक पत्रकारिता, डिजिटल साक्षरता र लैङ्गिक संवेदनशील रिपोर्टिङका विषयमा पत्रकारहरूको सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्य उक्त तालिमको आयोजना गरिएको सुनौलो सिसौटका अध्यक्ष अरुण प्रताप सिंहले जानकारी दिए।
तालिममा प्रशिक्षक अजित तिवारी र दिवाकर उप्रेतीले सहभागीहरूलाई समाचार लेखनका विविध पाटो, एङ्गल छनोट, रिपोर्टिङमा ध्यान दिनुपर्ने कुराहरू, मल्टिमिडिया सामग्रीको प्रयोग र दुरुपयोग, फिल्ड रिपोर्टिङमा सावधानी, मिथ्या सूचना र त्यसबाट बच्ने उपाय, पत्रकारिताको भाषा तथा आचारसंहिता लगायत विषयमा प्रशिक्षण दिएका थिए।
सुनौलो सिसौटका अध्यक्ष सिंहको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, सुनौलो सिसौटका प्रतिनिधि श्यामसुन्दर यादव, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी लगायत जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत करिब २ दर्जन भन्दाबढी पत्रकारहरूको सहभागिता रहेको थियो।
तालिम मलंगवा-९ स्थित पञ्चवटी होटलमा सम्पन्न भएको हो।