बखतियार अलि–
सर्लाही ११ पुष । रकमको चलखेल गरि बिधार्थी भर्ना गरेको समाचार लोकतन्त्र दैनिकमा प्रकाशन भएपछि श्री सन्त अल्पमाई रामनारायण यादव बहुप्राविधिक शिक्षालय मलंगवाका शिक्षालय प्रमुख बिरेन्द्र बाबु यादव माथि कार्वाही प्रक्रिया अगाडी बढेको छ ।
डिप्लोमा फामेर्सीको पुर्ण शुल्कीय कार्यक्रममा बिधार्थी भर्ना गर्दा शिक्षालय प्रमुख यादवले रकमको चलखेल गरि बैकल्पिक उम्मेदवारलाई भर्ना गरेको भन्दै कार्वाही प्रक्रिया अगाडी बढेको परिषदले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद मधेश प्रदेशमा मिति २०८१ मंसिर १६ गतेका दिन बिधार्थी भर्नामा अनियमितता भएको भन्दै उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा प्रदेश परिषद जनकपुरबाट उपनिर्देशक दिनेश कुमार मल्लिक, परिक्षा अधिकृत सत्यदेव पण्डित र सूचना अधिकारी मदन कुमार साह सहितको टोलीले छानबिन समिति गठन गरि डिप्लोमा फामेर्सीको पुर्ण शुल्कीय कार्यक्रममा बिधार्थी भर्ना गरेको सम्पुर्ण कागजात झिकाई अध्यण गरेको थियो ।
शिक्षालय प्रमुख यादवले बिधार्थी भर्ना गर्दा छात्रवृति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८१ को दफा २४ अनुसार प्रक्रिया अपनाइएको देखिएन ।
भर्ना प्रक्रियामा ब्यापक लापरवाही र अन्यौलता देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । फामेर्सी संकायको बिधार्थी भर्नामा बैकल्पिक उमेदवार १ नम्बर खाली भएको ठाउमा पुन बिधार्थी भर्ना गर्दा २ नम्बरलाई उच्च प्राथमिकता राखेर भर्ना प्रक्रिया अगाडी बढाउनु पर्ने थियो ।
साथै उपल्लो निकाय प्रदेश परिषद तथा केन्द्र परिषद संग समेत परामर्श गर्नु पर्ने नियम छदाछदै आफु खुसी शिक्षालय प्रमुख यादवले १७७ नम्बरको बैकल्पिक उमेदवार रुनी कुमारी सि.ं नं. ४०४७४४ लाई भर्ना गरेकोले निज कुमारीको भर्ना समेत रद गरि शिक्षालय प्रमुख यादवलाई कार्वाही प्रक्रिया अगाडी बढाएको परिषदको प्रतिवेदनमा उल्लेख गरिएको छ ।