Loktantra Khabar National Weekly
Ad

सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सुरु

लोकतन्त्र खबर
१८ मंसिर २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही,१८ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सुरु भएको छ । बलरा नगरपालिका र युनेस्कोको संयुक्त आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको सहकार्यमा मंगलबार र बुधबार गरी दुई दिवशिय विज्ञान प्रदर्शनी मेला सुरु भएको हो । सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विधा भट्टराई उपर ड्रोन बाट पुष्प बर्षा गरेर गरिएको छ ।

 

जनज्योति क्याम्पसका एलिस मैनालीले निर्माण गरेको ड्रोनबाट पुष्प वर्षा गराइएको थियो । मन्त्री भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै अनिवार्य तथा निशुल्क शिक्षा छिटै मन्त्रालयबाट लागू हुने तथा यसका लागि शिक्षा ऐन प्रतिनिधि सभामा छलफलको लागि राखिएको उहाले बताउनुभयो ।

 

विधार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम हुने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले यस्ता विज्ञान प्रदर्शनी कार्यक्रम तिनै तहका सरकार मिलेर राष्ट्रिय स्तरमा लागु गर्न आफु प्रयास गर्ने उहाले बताउनु भयो ।

 

यस्ता कार्यमले विधार्थीको सिर्जनात्मक अभ्यास हुने उहाले भने । सर्लाहीमा विज्ञान तथा प्रविधिको क्षेत्रमा दखल राख्ने एवं गाँउघरमा लुकेको प्रतिभावान व्यक्तिको खोज गर्ने उद्देश्यका साथ पहिलो पटक सर्लाही जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेला २०८१ सुरु भएको बलरा नगरपालिकाले जनाएको छ ।

 

सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा सर्लाही भरका विधार्थीले आ–आफ्नो विधालयको तर्फबाट विभिन्न विज्ञान प्रदर्शनी गरेका थिए । विज्ञान प्रदर्शनी बुधवार सम्म प्रदर्शन हुनेछ । त्यस्तै विधार्थीहरुले आ–आफ्नो विभिन्न संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरेका थिए । मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल रायले विज्ञान प्रदर्शनीमा विधार्थीहरुले सिर्जनात्मक प्रस्तुति गरेको बताउनु भयो ।

 

उहाले सर्लाहीमा विधार्थीको अनुपातमा शिक्षकको संख्या नभएको हुदा शिक्षा मन्त्री भट्टराईलाई शिक्षकको संख्या विधार्थीको अनुपातमा बढाई दिन आग्रह समेत गर्नुभयो । बैज्ञानिक डां महावीर पुनले यस्ता विज्ञान प्रदर्शनी दुई दिन मात्र गरेर विधार्थीमा परिवर्तन नहुने उहाले बताउनु भयो ।

 

विज्ञान अध्यापन गराउने शिक्षकले विधालयमा विज्ञान सम्बन्धि निरन्तर क्रियाकलाप गरे विधार्थीमा परिवर्तन हुने उहाले बताए । प्रतिनिधि सभा सदस्य तथा पुर्व रक्षा मन्त्री हरि उप्रेतीले मधेशमा डाक्टर र ईन्जिनियर बढी हुनछ भन्ने उदाहरण तोडदै अब मधेशमा हरेक क्षेत्रमा वैज्ञानिकको उत्पति हुने बताउनु भयो ।

 

विज्ञान प्रदर्शनी मेला वृहत रुपमा आयोजना भएकोले बलरा नगरपालिकाको मात्रै नभई सिंगो सर्लाही जिल्लाको लागि गर्वको विषय भएको बलरा नपा वडा नम्वर ८ स्थित रहेका श्री जनता नमुना मावि विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादवले खुशी व्यक्त गर्नुभयो ।

 

नयाँ नौलो, सृजनात्मक कुराहरुको सृजना गर्ने र नयाँ कुराहरुको अविष्कार गर्ने यस मेलाको मुल मर्म रहेका छन । यो मेलाले यस भेगका विद्यार्थीहरु तथा अभिभावकहरुमा विज्ञान एवं प्रविधि सम्बन्धि जनचेतना र चासो दिन मद्दत गर्ने उहाले भने ।

 

बालबालिकाहरुमा विज्ञान सम्बन्धि चाहना र रुचिको विषयमा अभिभावक र विद्यालयले लगानी र विज्ञान सम्बन्धि वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विज्ञान प्रदर्शनी मेलाबाट विद्यार्थीहरुमा नयाँ नयाँ प्राविधिक र ज्ञानको प्रतिभा उजागर हुने वतmाहरुले बताए । मेलाबाट पाउने ज्ञानको अनुभवले आफनै क्षेत्रमा केही न केही नयाँ कुरा सिकेर नयाँ सिपको खोजी गरेर मुलुकमा भोलि चाहे अनुसारको काममा आफनो पसिना बगाएर आत्मनिर्भर बन्न सक्नेछ ।

 

सर्लाहीको विज्ञान प्रदर्शनी मेला माइलस्टोन सावित हुने युनेस्को नेपालका सहायक महासचिव रामेश्वर प्रसाद यादवको भनाई थियो । करिब २५ बर्ष अगाडी जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेला हरिवनको जुटपानीमा सामान्य रुपमा आयोजना भएको थियो त्यसपछि अहिले सम्म अर्को विज्ञान प्रदर्शनी आयोजना नै नभएको उहाले बताए ।

 

युनेस्को सहकार्यमा कुनै पनि स्थानिय तहले वृहत रुपमा आयोजना गर्ने यो विज्ञान प्रदर्शनी मेला देशमै पहिलो चोटी आयोजना भइरहेको महासचिव यादवले दाबी गर्नुभयो ।

 

जिल्लाका विकट तथा विपदका जोखिमले भरिएका बलरा नगरपालिकाले वृहत रुपमा विज्ञान प्रदर्शनी आयोजनाका लागि साहस गरेर ठुलो आर्थिक लगानी गर्नु प्रशंसनिय कार्य रहेको बताउदै यसबाट सर्लाही लगायत अन्य जिल्लाका स्थानिय तहले समेत पाठ सिक्नुपर्ने वहाको भनाई थियो ।

 

विज्ञान प्रदर्शनी मेला विद्यार्थीहरुले आफूले अध्ययन गरेको ज्ञान सिप र दक्षतालाई प्रयोगनात्मक अभ्यासमा ढाल्ने कुरा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमु्ख तारापति खरेलले बताउँनु भएको छ ।

 

यसमा पाठयक्रम भित्रकै विषयवस्तु समावेश हुन्छन र विशेषगरी विज्ञान, गणित इन्जिनियरिंग र आर्ट विषयका शिक्षकहरुका लागि अवसर समेत रहेका छन, उहाँले भन्नुभयो । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी, यातायात मन्त्री कौशल राय, संविधान सभा सदस्य शिवपुजन यादव,

 

गोडैता नगर प्रमुख देवेन्द्र राय, बरहथवा नगर प्रमुख कल्पना कट्टुवाल, लगायत विभिन्न व्यक्तिको उपस्थिति विज्ञान प्रदर्शनी मेलाको भव्य उदघाटन भएको थियो ।

 

विज्ञान प्रदर्शनी मेलामा जिल्ला भरिका विधालयहरुले सहभागिता जनाएपछि कार्यक्रममा छात्रछात्राहरुको सहभागिता हजारौंको संख्यामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: