Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा छठ पर्वको तयारी तिब्र, नदी तथा जलाशयहरु सिंगारिँदै,बजारमा किनमेल गर्नेहरुको भिड

लोकतन्त्र खबर
२० कार्तिक २०८१

मनोज यादव— सर्लाही,कात्तिक २०

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै सर्लाही लगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ ।

कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि यतिबेला श्रद्धालु भक्तजनहरू पोखरी, नदी तथा जलायशहरु सजाउने काममा व्यस्त भएका छन् ।

ब्रतालु महिलाहरु छठको लागि आवश्यक पर्ने भुसबा,ठेकुवा,खजुरी आदी प्रसादका लागि चामल, गहुँ सुकाउने र घर आँगन सफाई तथा लिपपोतमा लागेका छन् भने पुरुषहरु छठ पुजाका लागि चाहिने सामाग्रीहरुको किनमेलमा लागेका छन् ।

बजारमा यतिबेला किनमेल गर्नेहरुको बाक्लो भिड लागेको छ। जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका अन्तर्गतका वडाहरुमा रहेका पोखरीहरुको सरसफाइको काम तिब्र गतिमा भइरहेको छ।

वडा न-९, ८ र १० को वडा कार्यालय जनसागर पोखरी र झिम नदीको सरसफाईमा लागेका छन्। त्यस्तै वडा न-४,वडा न-५ भाँडसर, वडा न-६ खुटौना,वडा न-७ मुसैली,वडा न-१०,वडा न-२ ,वडा न-१ वडा न ११ र १२ गम्हरिया पनि आ-आफ्नो वडामा रहेका पोखरीहरुको सरसफाइमा जुटेका छन् ।यस कार्यमा स्थानीयबासी र युवा क्लव तथा संस्थाहरूले समेत सघाइ रहेका छन् ।

मलंगवा स्थित रहेका जनसागर पोखरी,शिवसागर पोखरी,मुर्ली पोखरी,झण्डा बजार पोखरी,झिम नदी सहितका पोखरीहरू र नदीको डिलमा छठ पूजाका लागि सजाउने काम भइरहेको छ ।

छठ पूजाका लागि मलंगवाका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने केही व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

छठ पर्व मनाउँदा चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन मंगलबार नुहाई खाई, दोस्रो दिन अर्थात् बुधबार खरना, तेस्रो दिन बिहीबार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन शुक्रवार उदाँउदै गरेको सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिन्छ ।

छठ पर्वमा अन्य सामाग्रीहरुको भन्दा केरा,स्याउ,अनार,सुन्तला ,उखु,भोगटे,कागती लगायतका फलफुलहरुको बढी खपत हुने गरेको छ। छठ पर्वका अवसरमा मधेस प्रदेश सरकारले कात्तिक २२ र २३ सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: