Loktantra Khabar National Weekly
Ad

छठ पर्वमा समेत सोंचे जस्तो माटोका भाँडाको बिक्री नहुँदा सर्लाहीका कुम्हार समुदाय चिन्तित

लोकतन्त्र खबर
२० कार्तिक २०८१

मनोज यादव— सर्लाही,कात्तिक २०

तराईबासीको सबैभन्दा ठुलो आस्थाको महापर्व छठ पर्वको बेला माटोको भाँडा बढी बिक्री हुने आशामा रहेका सर्लाहीका कुम्हार समुदाय भाँडाको बिक्री घटेपछि चिन्तित भएका छन् ।

अन्य समयमा माटोको भाँडाको बिक्री कम भए पनि तिहार र छठ जस्तो चाडपर्वमा बढी बिक्री हुने र त्यसबाट आम्दानी पनि बढी हुने आशामा रहेका कुम्हारहरु अहिले चिन्तित देखिएका छन्।

केही वर्ष अगाडिसम्म तिहार र छठ पर्वमा माटोबाट बनाइएका दियो,घैंटो,ढकनी,पाला लगायत भाँडाहरुको मागसँगै बिक्री पनि बढी हुने गरेको थियो ।

तर, पछिल्लो समय बढ्दो आधुनिकतासँगै माटोको भाँडाको प्रयोगकर्ता घट्न र रेडिमेड भाँडाको प्रयोगकर्ताहरु बढ्न थालेपछि आफुहरुको व्यवसाय निरन्तर ओरालो लाग्दै गएको कबिलासी नगरपालिका वडा न-९,सलेमपुरका कुम्हार बिल्टु पंडितले गुनासो गरे ।

उनले दिपावली र छठमा धेरै बिक्री होला भनेर महिनौ मिहिनेत गरेर बनाएका माटोका भाँडाहरु सोचेजस्तो बिक्री नहुँदा मेहनतसँगै लगानी पनि डुबेको बताए ।

अहिलेको आधुनिक समयमा बजारमा आएका विभिन्न किसिमका रेडिमेड भाँडा र झिलीमिली बत्तीको बढ्दो प्रयोगका कारण माटोको भाँडाको बिक्रीमा कमी आउँदा पेशा नै संकटमा परेको उनीहरूको गुनासो छ ।

विगतका दिनमा माटोको सामाग्रीहरुको निकै व्यापार हुने गरेकोमा अहिले बजारमा आएको पित्तल,स्टिल तथा प्लाष्टिकका भाँडाकुँडाहरुमा ग्राहकको आकर्षण बढी हुन थालेकोले आफुहरुको व्यापार दिन प्रतिदिन कम कम हुँदै गएको सलेमुपुरकै अर्का एक कुम्हार बिल्टु पंडितले बताए ।

यो पेशाबाट परिवारको।पेट पाल्न धौं धौं परेकोले धेरैजसो कुम्हारहरु अन्य पेशा तर्फ पलायन भइसकेको उनले बताए ।

खासगरी दीपावली, छठ तथा विभिन्न चाडपर्वका बेला माटोकै विभिन्न सामग्रीहरुको प्रयोग गर्ने परम्परा सदीयौंदेखि हाम्रो समाजमा चल्दै आइरहेकोमा पछिल्लो समय रेडिमेड बत्ती तथा प्लाष्टिक, स्टिल र पित्तलका भाँडाकुडाले गर्दा मटोको भाँडाहरु सहज रुपमा पाउनै छाडिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्: