
मनोज यादव—- सर्लाही,असोज २०
नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै सर्लाहीलगायत तराईका बिभिन्न स्थानका देवी मन्दिर तथा शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुँइचो लाग्न लागेको छ ।
देवीदुर्गासहितअन्य विभिन्न देवी देउताका मूर्ति राखिएका प्रतिमा स्थल तथा मन्दिरहरु एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।
मधेस प्रदेश अन्तर्गत पर्ने सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित प्रशिद्ध राजदेवीमाई,बौधीमाई, कबिलासी नगरपालिका स्थित चमेलीमाई लगायत जिल्लाका विभिन्न पालिकाहरुमा अवस्थित दशकौ पुरानो एवं प्रशिद्ध देवी मन्दिर तथा मेलाआयोजनको लागि बनाइएका अस्थायी प्रतिमा स्थलहरुमा दसैंको पहिलो दिन घटस्थापनादेखि नै विशेष पुजागर्ने भक्तहरुको घुइँचो लागेको छ ।
सप्तमीको दिनदेखि बली दिन सुरु गरिने भएकोले सो दिनदेखि शक्तिपिठहरुमा बलीहरुको ठूलो भिड लाग्ने गरेको मलंगवा-१० स्थित राजदेवी मन्दिरका पुजारी राजबाबा भन्ने सतिश चन्द्र वर्माले बताएका छन् ।
घटस्थापनाको दिनदेखि नै देवी मन्दिर तथा प्रतिमा स्थलहरुमा बिहान बेलुका दैनिक रुपमा बिशेष पुजापाठका साथै भजन किर्तन, जागरण तथा झिंझिया नाचहरु भई रहेका छन ।
दशैको समयमा शक्ति पिठहरुमा पुजाअर्चना गरेमा पारिवारिक सुख शान्ति मिल्ने धार्मिक जनबिश्वास रहीआएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवासहित ,लालबन्दी,हरिवन, बयलबास, बरहथवा,गोडैता बजार,गैर बजार,हरिपुर,कौडेना लगायत जिल्ला भरीका गाउँका विभिन्न चौक चौराहाहरुमा भब्य पण्डाल भित्र देवी दुर्गासहित अन्य देवी देवताहरुको प्रतिमा निर्माण गरिको छ।
ती स्थानहरुमा महाअष्टमीको दिनदेखि ठुलो मेला लाग्ने छन् । यतिबेला देवी मन्दिर तथा शक्तिपिठहरु धार्मिक पर्यटकीय स्थल जस्तै बनेको छ ।
जहाँ ठुलो संख्यामा मानिसहरु पूजाआराधना गर्न र मेलाभर्न आइरहेका छन्। तराई मधेसमा दसैं पर्वलाई दुर्गा पूजा, दशहरा, दशमी, भगवतीपूजाको नामले पनि मनाउने गरिन्छ ।