Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र द्वारा मलंगवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
१३ आश्विन २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,असोज १३

राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाले सर्लाहीको सदरमुकाम मलंगवामा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन, पारदर्शिता र प्राप्त नतिजाको बारेमा सेवाग्राही तथा सरोकारवालाहरुलाई जानकारी गराइ लेखाजोखा र मुल्यांकन गरि सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यक्रम निर्देशक शिवजी प्रसाद साहले जानकारी गराएको छ।

संस्थाका अध्यक्ष गायत्री देवी महतोको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएका सहजकर्ता अनिल खनालले आर्थिक वर्ष २०८०/०८१ मा संचालित कार्यक्रमहरुको सामाजिक परिक्षण प्रतिवेदनको साथै संचालित परियोजनाहरुको प्रगति, प्राप्त उपलब्धिहरु तथा केन्द्रको परिकल्पना,ध्येय,लक्ष्य तथा उदेश्यहरुको बारेमा जानकारी गराएका थिए।

संस्थाले सर्लाही जिल्लाको बलरा ,गोडैता तथा हरिपुर्व नगरपालिका, चन्द्रनगर,ब्रह्मपुरी,कौडेना तथा पर्सा गाउँपालिकामा दातृ संस्थाहरु वर्ड एजुकेसन इन्टरनेसनल नेपाल ,ह्याण्डिक्याप इन्टरनेसनल नेपाल ,सेभ द चिल्ड्रेन , सेसी र वर्ड भिजन इन्टरनेसनलको सहयोग बाट सिकाई,लेगो,अस्थेल,पोषण ,एनआरएन,समुन्नती ,गाल ,कोरल परियोजना संचालन गरेको छ।

यस बाहेक संस्थाले आफ्नै आन्तरिक कोष र स्थानीय तहको सहयोगमा निशुल्क एकीकृत स्वास्थ्य शिविर समेत संचालन गरेको सहजकर्ता खनालले जानकारी गराएका छन्।

उनले गत आ.व २०८०/०८१ मा संचालित परियोजना तथा क्रियाकलापहरुबाट १८ वर्ष मुनीका बालबालिका ,दलित,जनजाती,अपाङ्गता भएका ब्यक्ति र यौनिक तथा अल्पसंख्यकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको समेत जानकारी गराए।संस्थाले गत आर्थिक वर्ष मा जम्मा १६ करोड ३१ लाख ९ हजार ९ सय ७८ रुपैया खर्च गरेको छ।

कार्यक्रममा सहभागी भएका लक्षित तथा लाभान्वित समुहका सदस्य तथा सरोकारवालाहरुले संस्थाले कृषि ,स्वास्थ्य र शिक्षाको क्षेत्रमा संचालन गर्दै आएको परियोजना र कार्यक्रमहरु उपलब्धिमुलक रहेको बताएका छन् ।

समुहमा आबद्ध भएर कृषि कार्य गर्दै आएका महिला सदस्यहरु आर्थिक कारोबारमा सक्रिय भएको बताएका छन् ।

संस्थाले समावेशी ,न्याय र सम्बृद्ध आत्मनिर्भर समाजको निर्माण गर्ने उदेश्यका साथ विक्रम सम्वत दुई हजार एकसठ्ठी सालमा सर्लाहीको सदरमुकाम मलंगवामा स्थापना भइ विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकायहरुको सहयोग तथा साझेदारीमा समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरुको न्युनिकरण तथा शिक्षा,स्वास्थ्य ,जिविकोपार्जन,जलवायु परिवर्तन ,विपद व्यवस्थापन ,बालअधिकार प्रबर्द्धन, लैंगिक समानतता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कार्य गर्दै आएको छ।

मलंगवा स्थित होटल सुजाता प्यालेसमा सम्पन्न भएको कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,उपाध्यक्ष गीतादेवी महतो,ब्रम्हपुरी गापाका अध्यक्ष राम पदारथ साह,पर्सा गाउँपालिकाका उपाध्यक्ष नुतन देवी मण्डल ,जिल्ला समन्वय समिति सर्लाहीका जिल्ला समन्वय अधिकारी कमल कार्की ,जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रतिनिधि राम किशोर महतो,जिल्ला प्रहरी कार्यालय सर्लाही महिला सेलका प्रमुख प्रहरी निरक्षक संगीता मचामसी,आर.आर.पि.के का कोषाध्यक्ष पिंकी साह,विभिन्न पालिका अन्तर्गत विषयगत शाखाका शाखा प्रमुख,विभिन्न विद्यालयका प्राधानाध्यापक,विभिन्न संघसंस्थाका प्रतिनिधि,सरोकारवाला ,केन्द्रका कर्मचारी र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन केन्द्रकी पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अनुगमन अधिकृत झुमा पाचकोटीले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्: