![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/09/5555555555555.jpg)
सर्लाही — सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकको बुवा घाइते भएका छन् । साथीसँगै गएराति पौने २ बजेतिर मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ का धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेका र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेका थिए ।
टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
उनका अनुसार घटनामा सानो हतियार प्रयोग भएको छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
प्रहरीका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोगजारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरबाट बाहिर बस्दै आएका थिए । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घरायसी विवादका कारण घटना घटेको जानकारी दिए । प्रहरी टोली अहिले घटनास्थलमै छ ।
मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा गाउँलेहरु भीड छ । सौजन्य कान्तिपुर