मनोज यादव— सर्लाही,भदौ ३० गते
केही वर्ष अघिसम्म दाल,गहुँ ,मसला आदी पिँध्नको लागि प्रविधिमा आधारित मिक्सचर तथा अन्य उपकरणहरु थिएन। परम्परागत जाँतो र सिलौटोकै प्रयोग हुने गरेको थियो ।
तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने ग्राइण्डिङ्ग मेशिन तथा मिक्सचर जस्ता विद्युतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेको छ।
बजारमा सहजै उपलब्ध हुने यस्ता आधुनिक उपकरणका कारण ढुँगाबाट बनाइएका परम्परागत जाँतो र सिलौटो बिक्री हुन छाडेपछि आफुहरुको पुर्ख्यौली पेशा संकटमा परेको भन्दै पत्थरकट्टा समुदायले चिन्ता व्यक्त गरेका छन् ।
केही वर्ष अघिसम्म सर्लाहीका विभिन्न स्थानमा ढुँगाले बनाइएको लोहोरो,सिलौटो,जाँतो लगायतका घरायसी प्रयोगका सामानहरु बिक्री गर्दै आएका पत्थरकट्टाहरु अहिले पेशाबाट बिस्थापित हुने अवस्थामा पुगेका छन् ।
मानिसहरु कुटानी पिसानीका लागि ढुँगाबाट बनाइएका लोहोरो,सिलौटो,जाँतो, ओखल लगायतका परम्परागत उपकरणहरुको साटो आधुनिक उपकरणहरुको प्रयोग गर्न थालेका छन् ।
हातले बनाइएका उपकरणहरुले बजार पाउन छाडेकोले आफुहरुको पेशा व्यवसाय नै डगमगाउने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन।
तयारी मसलाको धुलो बजारमा आउनु र मसला पिस्नका लागि आधिुनिक मेसिनहरु बजारमा पाइनुले सिलौटो र लोहोरोको माग घट्दै गएको देखिन्छ ।
सिलौटो, जाँतो र ओखल बनाउन पहाडबाट ढुँगा खोजेर ल्याउनुपर्छ।सय वटा ढुँगामा २ वटा ढुँगा मात्र काम लाग्ने हुन्छ।
एउटा सिलौटोको मुल्य चार सयदेखि छ सयसम्म र जाँतोको मुल्य एक हजारदेखि पन्ध्र सय रुपियाँसम्ममा बिक्री हुने गरेकोमा लागत मुल्यसमेत असुल उपर हुँदैन ।
एउटा जाँतो ,सिलौटो तयार पार्न दिनभर लाग्ने गरेको मलंगवा नगरपालिका वडा न-४ का पत्थरकट्टा अशोक थबइ बताउँछन् ।
पुर्खादेखि चल्दै आएको आफ्नो व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब पुस्तान्तरण नहोला कि भन्ने चिन्ता लागेको छ।
सरकारले यदी मद्दत गरिदिए छोराछोरीलाई पढाउने थियौं उनले बताए ।
नेपालमा लोपोन्मुख जातीको सूचिमा रहेको थबइहरुको संख्या दुई सय घरधुरी मात्र रहेको तथ्यांकमा उल्लेख छ।
थबइ समुदायका पत्थरकट्टाहरु सर्लाहीको सदरमुकाम मलंगवा ,लालबन्दी, हरीवन, ईश्वरपुर,बरहथवा र बाग्मती नगरपालिकाका विभिन्न स्थानमा सानो छाप्रो बनाएर त्यसैमा परिवारसहित गुजाराका लागि आफ्नो पुर्ख्यौली पेशामा लागेको देख्न सकिन्छ ।
पछिल्लो समय तिब्र गतिमा विकास भईरहेको आधुनिक प्रविधिको सिधा असर पत्थरकट्टा जस्तै अरु परम्परागत पेशाका जाती समुदायहरुमा पनि परेको छ।
उनीहरु पनि आफ्नो पेशाबाट क्रमिक रुपमा बिस्थापित हुँदै गइरहेको पाइन्छ ।