Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय बाल दिवसको अवसरमा CWS सर्लाही द्वारा सम्मान तथा शैक्षिक सामाग्री वितरण, पत्रकार मनोज यादवलाई पनि सम्मान

लोकतन्त्र खबर
३० भाद्र २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ ३०

“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”भन्ने नाराका साथ शनिवार देशभरसहित सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी ६० औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

दिवसको अवसरमा जिल्लाभरीका पालिका तथा संघसंस्थाहरुले र्याली, अन्तरक्रिया तथा बाल अधिकारका सवालमा विचार गोष्ठी लगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाइएका छन् ।

दिवसको अवसरमा बाल कल्याण समाज मलंगवाले आफ्ना सहयोगी हातहरुलाई सम्मान तथा अतिविपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको विशिष्ठ आतिथ्यतामा मलंगवा स्थित जिससको सभाहलमा कार्यक्रम आयोजना भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्री राय र विशिष्ठ अतिथि जिसस प्रमुख सिंहले संस्था द्वारा टुहुरो,गरिब ,दलित,बालमजदुर,शोषित ,उत्पिडित,जोखिममा परेका तथा अपांगता भएका बालबालिकाहरुको उत्थान र विकास गर्नका लागि चलाइएको अभियानमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मधेसको पहिचान गमछा ओढाएर कदरपत्रसहित सम्मानित गरेका थिए।

यसै कार्यक्रममा लामो समयदेखि समाचार लेखनमा क्रियाशील रही आफ्नो कलमको माध्यमबाट समाजलाई सुसूचित गराउँदै आइरहेका राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाका प्रमुख सम्पादक मनोज यादवलाई पनि कदरपत्र द्वारा सम्मानित गरेको आयोजक संस्थाले जनाएको छ।

मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रले संचालन गरेको कार्यक्रममा मन्त्री राय,जिसस प्रमुख सिंह,जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख तारापती खरेल,जिल्ला प्रहरी कार्यालय सर्लाही महिला सेलका प्रमुख प्रहरी निरिक्षक सरिता मचामसी ,नागरिक समाजका शिवचनद्र चौधरी,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष अधिवक्ता राजेश पासवानसहित प्राधानाध्यापक इन्द्रभुषण यादव र विद्यार्थीहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए। हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: