Loktantra Khabar National Weekly
Ad

ग्रामीण नारी उत्थान संघ हरिपुरले आ.व २०८०/०८१ मा संचालन गरेका कार्यक्रमहरुको समिक्षा गरे

लोकतन्त्र खबर
१७ भाद्र २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ १७

सर्लाहीको हरिपुर नगरपालिका वडा न-२ मा रहेको ग्रामीण नारी उत्थान संघले आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरेको विभिन्न परियोजनासहितका अन्य कार्यक्रमको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ।

आइतवार संघका अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता र जिसस उपप्रमुख जितेन्द्र कुशवाहाको विशिष्ठ आतिथ्यतामा वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरिएको हो।

बैठकमा संस्थाका सचिव सूर्य चालिसे, कार्यकारी निर्देशक डा. कमलबहादुर थिङ र दीपक भण्डारीले संस्थाको संस्थागत परिचय तथा गत आर्थिक वर्ष २०८०/०८१ मा संस्था द्वारा विभिन्न परियोजनाहरु अन्तर्गत भए गरेका कामहरुको प्रगति विवरण प्रस्तुुत गरेका थिए ।

कार्यक्रममा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ द्वारा संचालीत समुुन्नति परियोजना अन्तर्गत उक्त आ.व मा ६ करोड ३१ लाख ८३ हजार २ सय ९२ रुपैयाँ बराबरको कार्यक्रममा संचालन भएको जानकारी गराइएको थियो।

कार्यक्रममा यसै परियोजनाको २०१७ देखि २०२३ सम्म भए गरेका कामको अध्यावधि मुल्यांकन समेत गरिएको थियो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा संचालित शिडा सि एफ एम र पहुँच तथा ग्राउण्ड्सवेल को सहयोगमा संचालित जिविकोपार्जन कार्यक्रमको प्रगति विवरण प्रश्तुत गर्दै गत वर्ष पहुुँच परियोजनामा १ करोड ५ लाख ४९ हजार २ साय ९३ रुपैयाँ बराबरको कार्यक्रम संचालन भएको संस्थाका कार्यकारी निर्देशक डा.कमल बहादुर थिङले जानकारी दिए ।

त्यस्तै उनले सिडा परियोजनाबाट ४२ लाख ७७ हजार ६ सय ४० रुपैयाँ बराबरको कारोवार भएको जानकारी दिए ।

उनले सि.एफ एम परियोजना संचालनको क्रममा ५३ लाख ३३ हजार ७ सय ६२ रुपैयाँ बरावरको रकम खर्च भएको विवरण प्रस्तुत गरेका थि ।

ग्राउण्ड्सवेल इन्टरनेशनल परियोजना अन्तर्गत गत वर्ष यस सस्थाले १३ लाख ६३ हजार १ सय १७ रुपैया वरावरको कार्यक्रम संचालन गरेको थिङले जानकारी गराएका थिए।

जिल्लाको हरिपुर र ईश्वरपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, महिला, जीवकोपार्जनलगायत क्षेत्रमा काम गरिरहेको यस संस्थाले सेभ द चिल्ड्रेनको मुख्य आर्थिक सहयोगमा विभिन्न परियोजनामा गरी एक वर्षभित्र ७ करोड ९९ लाख ७ हजार एक सय ४ रुपैयाँ खर्च गरेको संस्थाका सचिव चालिसेले जनाएको छ ।

संस्थाको आफ्नै सभा कक्षमा सम्पन्न भएको बैठकमा संविधान सभा सदस्य रामचन्द्र चौधरी, जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की, हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, गैर–सरकारी संस्था महासंघका केन्द्रिय सदस्य लक्ष्मी सिंह, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी,मानवअधिकार रक्षक संजाल सर्लाहीका जिल्ला अध्यक्ष मुकेश मिश्र,दुवै पालिकाका वडाध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि र महिला तथा बालबालिका शाखाका प्रमुख,आम समूह ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: