लोकतन्त्र समाचारदाता—- सर्लाही,भदौ १६
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले समाज भएका विकृति र विसंगतिहरु विरुद्ध शिक्षित वर्गले आवाज उठाउनु पर्ने बताउनु भएको छ।
शुक्रवार सदरमुकाम मलंगवा स्थित सुजाता होटलमा जिसस सर्लाही द्वारा आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो।
एकले अर्कालाई गर्ने थिचोमिचोको विरुद्धमा शिक्षित वर्गले खुलेर विरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।
सोही अवसरमा बोल्दै जिसस उपप्रमुख जितेन्द्र कुशवाहाले समाजलाई रुपान्तरण गर्न समाजका हरेक वर्गले आ-आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
अहिलेका बालबालिका तथा किशोर किशोरीहरु लागुऔषधको कुलतमा फस्दै गइरहेकाले उनीहरूलाई सचेत गराउने खालका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा उपस्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरेले एनजीओ हरुले परियोजना तथा कार्यक्रमहरु संचालन गर्दा आर्थिक रुपमा पारदर्शिता हुनुपर्ने सुझाव दिएका थिए।
उहाँले दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुलाई पनि सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाले संयुक्तरूपमा जिल्लाको हरिपुर्वा र पर्सामा संचालन गर्दै आएको संरक्षण समुदाय संलग्नता स्पोन्सरसीप कार्यक्रम तथा एकीकृत पोषण उत्थानशील जिविकोपार्जन परियोजनाहरुको बिहिवार गरिएको संयुक्त अनुगमन पश्चात् जिसस प्रमुख सिंहको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको परियोजना सल्लाहकार समितिको बैठकमा शिक्षा तथा समन्वय ईकाई, कृषि ज्ञान केन्द्र,स्वास्थ्य कार्यालय ,जिल्ला प्रहरी कार्यालयलका प्रमुख तथा प्रतिनिधि,वर्ल्ड भिजन इन्टरनेशनल ,बागमती सेवा समाज नेपाल हरिवन,राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाका पदाधिकारी ,बाल क्लबका सदस्य ,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।