मनोज यादव— सर्लाही,भदौ १३
सर्लाहीको कौडेना गाउँपालिकाले आफ्नै लगानीमा सुविधासम्पन्न सामुदायिक अस्पतालको निर्माण गरि संचालनमा ल्याएपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन्।
कौडेना गाउँपालिकाको एक करोड भन्दा बढीको लगानीमा वडा न-२ स्थित फुलपरासीमा १५ शैयाको सामुदायिक अस्पताल संचालन आएपछि सानो भन्दा सानो रोगको उपचारका लागि पनि जिल्लाको सदरमुकाम मलंगवा ,बरहथवा,लगायत शहरका सरकारी तथा निजी अस्पतालहरुमा जानुपर्ने बाध्यता समाप्त भएको छ।
गाउँपालिकाबासीलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि सदरमुकाम मलंगवा जानु पर्ने तथा जाँदा ,आउँदा र औषधि उपचार गराउँदा ठुलो खर्च लाग्ने बाध्यात्मक परिस्थितिलाई मध्य नजर गर्दै गाउँपालिकाको एक करोड भन्दा बढीको लागानीमा १५ शैयाको सामुदायिक अस्पताल निर्माण गरि पुर्ण रुपमा संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले बताए ।
सबै भन्दा पहिला मानिस स्वास्थ्य रह्यो भने मात्र उसलाई शिक्षा,रोजगारी,विकास निर्माण र अन्य आवश्यकताहरु पुरा हुँदै जान्छन् भन्ने मान्यताका साथ कौडेनाका जनतालाई सामान्य खालका स्वास्थ्य समस्या देखा पर्नासाथ उपचारका लागि कहाँ जाने भन्ने चिन्ताबाट मुक्त गराउन गाउँपालिकाकाले पहिलो प्राथमिक्ताका राखेर कौडेना र आसपासका पालिकाका नागरिकहरुलाई पनि पायक पर्ने मलंगवा-गोडैता हुलाकी सडक अन्तर्गत फुलपरासी गाउँमा अस्पताल निर्माण गरि संचालनमा ल्यायको उनले बताए ।
उक्त सामुदायिक अस्पतालबाट कौडेनाका मात्र नभइ छिमेकी पालिकाका जनताहरुले समेत सहज रुपमा स्वास्थ्य सेवा पाइरहेका छन् ।
मात्र एउटा ओपिडी पुर्जाको खर्चमा अन्य जाँच सेवाहरु नि:शुल्क र सहज रुपमा पाउँदा सेवाग्राहीहरु खुसी भएका छन ।
यस सामुदायिक अस्पतालमा एकजना एम.वि.वि.एस डाक्टर सहित ४३ जना स्वास्थ्य कर्माचारीहरुले ओपिडी,इमर्जेन्सी ,नाक ,कान ,घाँटी, मुख, स्त्री तथा प्रसुती,बाल रोग,एक्सरे,भिडियो एक्सरे,ल्याव(प्रयोशाला) जाँच तथा निःशुल्क औषधी सहित गर्भवती महिलालाई अस्पताल ल्याउ र लैजानको लागि निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिंदै आएको छ।
अहिले यस सामुदायिक अस्पतालमा दैनिक ५० जना भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन ।
गरीब,विपन्न तथा गाउँपालिकाबासीलाई २५ देखि ४० रुपैयाँको टिकटमा एम.वि.वि.एस डाक्टरले चेकजाँच गर्ने,अन्य पालिकाका अस्पतालहरुको तुलनामा न्युन शुल्कमा ल्याव(प्रयोगशाला)जाँचका साथै सबै प्रकारका औषधीहरु निःशुल्क वितरण भई रहेको छ ।