
लोकतन्त्र समाचारदाता— सर्लाही,साउन २८
सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-२ निवासी पत्रकार मुकेश झा दम्पतीले आफ्नी छोरीको जन्मदिन बृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन गराएर मनाएका छन् ।
पत्रकार झाले आफ्नी छोरी सन्ध्या कुमारी झा ९ वर्ष पुरागरि १० औं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार बिहान श्रीमती र आमासँगै सोमबार बिहान लालबन्दी नगरपालिका वडा न-२ जुटपानी स्थित पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रममा पुगेर त्यहाँ आश्रित वृद्ध बा-आमाहरुलाई मिष्ठान्न भोजन गराएका हुन्।
पत्रकार झाकी छोरी सन्ध्याले आश्रममै वृद्ध बा-आमासहित आश्रमका संरक्षक बासुदेव शरण कोईराला, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री,जयगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश रायलगायत आश्रमका कर्मचारी र विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थितिमा केक काटेर जन्मदिनको खुशियाली साटेकी थिइन्।
पछिल्लो समय जन्मदिन मनाउने बहानामा होटलहरुमा गएर माछा, मासु र रक्सीमा फजुल खर्च गर्ने चलन सुरु भएको छ।तर पत्रकार झा ले भने फजुल खर्च गर्नुको साटो घरपरिवारबाट अपहेलित भई सहारा विहिन बनेका बृद्धबृद्धाहरुलाई एक छाक मात्रै भए पनि मिठो भोजन गराउन पाए छोरीको जन्मदिन मनाएको सफल हुने साथै उहाँहरुबाट आशिर्वाद पाएर पुण्यको भागीदार पनि बन्न पाउने भएकोले छोरीकै इच्छा अनुसार उहाँहरुलाई मिष्ठान्न भोजन गराएको बताउनुभयो।
आफ्नो छोरीको खुसीमा बृद्ध बा-आमालाई पनि सामेल गराउन पाउँदा पत्राचार झा दम्पती निकै खुशि देखिएका थिए। पत्रकार झा नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति सदस्य हुन् ।उनी वेभ टिभी खबरका सर्लाही सम्वाददाताका साथै हरिपुर्वाबाट प्रकाशन हुने लोकप्रिय आवज दैनिकका प्रकाशक समेत हुन् ।