विद्यानन्द राय— सर्लाही,साउन १८
श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यातायात व्यवस्था कार्यालयमा बिचौलियाहरु हाबी रहेको बताउनुभएको छ।
बिहीबार मलंगवा स्थित यातायात व्यवस्था कार्यालयको निरिक्षण गर्ने क्रममा पत्रकारहरु सँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले आफुले मधेस प्रदेशका आठवटै जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयको निरिक्षण गर्ने क्रममा सो कार्यालयमा बिचौलियाहरु हाबी रहेको पाएको बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय मलंगवाको कार्यालय बर्षातको मौसममा जलमग्न हुने गरेको गुनासो प्रति चिन्ता ब्यक्त गर्दै यसको उचित व्यवस्थापन गर्न मन्त्रालयबाट भरपुर सहयोग गर्ने कार्यालय प्रमुख राकेश यादवलाई आश्वासन दिनुभयो ।
निरिक्षणमा मन्त्रीसँगै आउनुभएका मन्त्रालयका सचिव रंजित रायले कार्यालय प्रमुख यादवलाई सही तरिकाले कार्यालय संचालनको लागि निर्देशन दिनुहुँदै दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गर्न आफु पहल गरिरहेको र चाँडैनै दरबन्दी अनुसारको पदपूर्ति समेत हुने जानकारी गराउनुभयो।
सोही अवसरमा यातायात व्यवस्था कार्यालय मलंगवाका प्रमुख यादवले मन्त्री रायसहित सचिव राय लगायत मन्त्रालयका पदाधिकारीहरुलाई स्वागत गर्दै कार्यालयको गतिविधिहरुको बारेमा अवगत गराएका थिए।

