Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा पेट्रोलियम पदार्थको खुलेआम कालोबजारी,सर्वसाधारण मात्र नभइ अनुगमन निकायका पदाधिकारी स्वयं यसको सिकार

लोकतन्त्र खबर
१८ श्रावण २०८१

मनोज यादव— सर्लाही,साउन १८

सर्लाहीको ग्रामीण क्षेत्रमा खुद्रा रुपमा बिक्री हुने पेट्रोलमा खुलेआम कालोबजारी भएको पाइएको छ ।

पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नियम भएपनि सानातिना पान पसलदेखि तरकारी पसलमा खुलेआम रुपमा पेट्रोलको किनबेच भइरहँदा समेत नियमन निकाय भने मौन रहेका छन् ।

बिना लाईसेन्स पेट्रोल बेच्दै आएका ब्यापारीहरुले मनपरी रकम असुल्दै आएपनि प्रहरी प्रशासन मौन भएर बसिदिंदा ग्राहकहरु खुलेआम ठगीको सिकार बन्न बाध्य छन् ।

जिल्लामा रहेका पेट्रोल पम्पहरुले नियमित रुपमा पेट्रोलको विक्री वितरण गर्दै आएका छन् तर गाउँ गाउँमा अबैध रुपमा पेट्रोलको कालोबजारी भइरहँदा नियमन निकायहरुले भने सो विरुद्ध अनुगमन गर्न सकेका छैनन्।

सहर बजारका पसलदेखि लिएर गाउँघरमा संचालित किराना पसल, नास्ता पसल ,फेन्सी पसल,पान पसल र तरकारी पसलहरुमा बर्षौंदेखी ‘मिनरल वाटर’ को बोतलमा पेट्रोलको बिक्रीवितरण हुँदै आएको छ। यसरी मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोलको मापन पुरै एक लिटर नहुने उपभोक्ताहरु बताउँछन् ।

त्यस्ता पसलेहरु पंप्पबाट ठुला ठुला ड्रम र गैलनमा पेट्रोल किनेर एक लिटरको मिनिरल वाटरको बोतलमा प्याक गरि सरकारले तोकेको मुल्य भन्दा ३० देखि ४० रुपैयाँ भन्दा बढी मुल्यमा बिक्री गर्ने गरेका छन् ।

एक हजार एमएल बराबर एक लिटर हुन्छ तर ब्यापारीहरुले मिनरल वाटरको बोतलमा बेच्दै आएको पेट्रोलको मापण गर्दा जम्मा ८ सय एमएल मात्रै हुन आउँछ। व्यापारीले १ लिटरको पैसा लिएपनि कम परिमाण दिएर ठग्ने गरेको उपभोक्ताहरुको गुनासो छ।

प्लास्टिकका भाँडामा प्याक गरिएका र धुलोकण मिसिएका पेट्रोल प्रयोग गर्दा सवारीसाधनको इन्जिन चाँडै बिग्रने प्राविधिकहरु बताउँछन् ।

जिल्लाका उच्चपदस्थ कर्मचारीहरुले समेत यात्राको क्रममा सडक छेउमा जथाभावी रुपमा बिक्रीको लागि राखिएका पेट्रोल सरकारले निर्धारण गरेको भन्दा बढी मूल्य तिरेर किनिरहेका छन् ।

सर्वसाधारण नागरिक मात्र नभइ अनुगमन गर्ने अधिकार पाएका नियमन निकायका पदाधिकारीहरु स्वयं कालोबजारीको सिकार बन्दै आएका छन् ।नियमन निकायको लागि यो एकदमै लाजमर्दो विषय भएको नागरिक समाजका अगुवाहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्: