Loktantra Khabar National Weekly
Ad

नक्कली नागरिकता प्रकरणमा वीरगञ्जका व्यवसायी निरञ्जन अग्रवाल पक्राउ, अन्यको खोजी

लोकतन्त्र खबर
१६ श्रावण २०८१

वीरगञ्ज । वीरगञ्ज आदर्शनगरबाट एक जना व्यवसायीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा वीरगञ्ज आदर्शनगरका निरञ्जन अग्रवाललाई पक्राउ गरेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । जन्मको आधार देखाई अग्रवालले लिएको नागरिकता जिल्ला प्रशासन कार्यालय पर्साबाट १८ फागुन २०६३ मा जारी भएको छ ।

नागरिकता लिनु अघि उनले २०५१ सालमा भारतीय नागरिक भनेर उल्लेख गरी सवारी चालक अनुमती पत्र लिएको खुलेको छ । स्थानीय नरेश ठाकुरले जिल्ल प्रहरी कार्यालय पर्सामा दिएको उजुरीको आधारमा प्रहरीले अग्रवाललाई सबै प्रक्रिया पूरा गरेर पक्राउ गरेको प्रहरी उपरीक्षक ढुङ्गेलको दाबी छ ।

भारत राजस्थानका बासिन्दा अग्रवाल विगतमा पिंकी सुपारीको नामले परिचित थिए । उनको वीरगञ्जको आदर्शनगरमा स्वीटमार्ट फुड इण्डष्ट्रिज छ । जसबाट यसअघि पनि ब्राण्ड चोरी गरेर नक्कली सेन्टोफ्रेसको उत्पादन गरी बिक्रि वितरण गर्दै आएको विषय पनि विवादित बनेको थियो । सोही बिदेशी ब्राण्ड चोरीको आरोपमा उनी यसअघि पनि प्रहरीको नियन्त्रणमा परीसकेका थिए ।

पिंकी स्वीट सुपारी लगायतका अन्य उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि उनले भन्सार छलेरै अवैध रुपमा ल्याउने गरेका छन् ।

अग्रवालको पक्राउसँगै अन्य दोहोरो नागरिकता भएका व्यक्तिहरुको पनि पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्जसहित पर्सा जिल्लाका दर्जनौ व्यक्तिहरुले झुठो विवरण पेश गरेर नक्कली नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: