मनोज यादव— सर्लाही,साउन ८
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पुर्व भुमिसुधार राज्यमन्त्री रामचन्द्र रायको निधनमा सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले शोक बिदा दिएको छ ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवले एक सूचना जारी गर्दै पुर्व राज्यमन्त्री रायको निधनमा आज(मंगलबार)शोक बिदा दिएको हो।
मलंगवा न.पा वडा न-४ निवासी रायको आइतवार राती चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर स्थित खेतीपाती गर्नको लागि बनाइएको उहाँको आफ्नै फार्महाउसमा तीनजना अज्ञात ब्यक्तिहरुको समूहले उखु काट्नको लागि प्रयोग गरिने धारिलो हतियार फरसा प्रहार गरि हत्या गरेर फरार भएका थिए।
आज साँझ ४ बजे उहाँको दाहसंस्कार गरिने पारिवारिक श्रोतले जानकारी गराएको छ।
मलंगवा -४ स्थित घरबाट अन्तिम यात्रा निकाली नगरको विभिन्न भागको परिक्रमा गर्दै वडा न-४ मै रहेको साकेत बिहारी राम मन्दिरमा पुगेर सोही मन्दिरको परिसरमा उहाँको दाहसंस्कार गरिने जनाइएको छ। राय आफ्नो राजनीतिक जिवनकालमा २ पटक राष्ट्रिय पञ्चायतको सदस्य र एक पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
वि.स २०५६ सालमा भएको आम निर्वाचनमा तत्कालीन सर्लाही क्षेत्र न-३ बाट बिजयी हुँदा पुर्व प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा भूमिसुधार राज्यमन्त्री बन्नुभएको थियो। उहाँको निधनले नगरपालिकाबासी शोकमा डुबेका छन् ।