
मनोज यादव—
सर्लाही,असाढ २१
असारे पानी पर्न थालेसँगै सर्लाहीका किसानलाई धान रोपाइँको चटारो भएको छ।
जिल्लाभरीका किसानहरु रोपाइँको काममा ब्यस्त हुन थालेका छन् यतिबेला खेतहरूमा धान रोप्ने किसान र मजदुरहरुको लर्को लागेको देखिन्छ।
असारको दोस्रो सातादेखि ठूलो पानी परेर खेतमा पानी भरिएपछि यहाँका किसानहरू धान रोपाइँमा जुटेका हुन्।
धानको बिउ तयार भइसकेको किसानहरुले रोपाइँ सुरु गरिसकेका छन् भने बिउ तयार हुन बाँकी किसानहरु रोपाइँका लागि खेत तयार गरिराखेका छन् ।
जेठ महिनामा पानी नपरेकोले रोपाइको लागि छरेको धानको बीउ चर्को घामका कारण राम्रोसँग उम्रिन नपाउँदै ब्याडमै सुकेर मरेकाले बीउ सुकेर कम भएपनि ब्याडमा रहेका छोटा बीउ रोपेरै भएपनि रोपाइँ गरिरहेको किसानहरुले बताएका छन् ।
कृषि ज्ञान केन्द्र सर्लाही ,मलंगवाका कृषि अधिकृत सिताराम यादवका अनुसार जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफल मध्ये हालसम्म ५ प्रतिशतमा मात्र धान रोपाइ भएको छ।
यस जिल्लामा प्रति हेक्टर ३ देखि साढे ३ मेट्रिक टन धान उत्पादन हुने गरेकोमा गत वर्ष ५ प्रतिशतले वृद्धि भएको थियो।
उनका अनुसार गतवर्ष सिजनको सुरुवातमा पानी नपर्दा रोपाई कम भएको र पछि सिजनको अन्त्यतिर आएर वर्षा भएपछि रोपाइ राम्रो हुँदा धान उत्पादनमा केही प्रतिशतले वृद्धि भएको थियो।
असारको दोस्रो हप्ता लागेपछि ढिलो गरी सक्रिय भएको मनसुनका कारण समयमा रोपाइ नभएको र हालसम्म ५ प्रतिशत मात्र रोपाइ सम्पन्न भएकोले यसवर्ष धानको उत्पादन बढ्ने अथवा घट्ने भन्ने विषयमा केही बताउन नमिल्ने कृषि अधिकृत यादवले बताए ।
जिल्लाको पुर्वी क्षेत्रमा खेतीपातीको लागि पर्याप्त मात्रामा सिंचाइ सुविधा नपुगेकोले सो क्षेत्रका किसानहरु आकाशे पानी र स्यालो ट्युबवेल तथा बोरिङको भरमा खेती गर्दै आएका छन् तर पश्चिम क्षेत्रमा सिंचाइका लागि बागमती तथा झिम नदी र मनुष्मारा सिंचाइ आयोजनाको पानी किसानको खेतसम्म पुगेकोले उनीहरूलाई आकाशे पानीको भर छैन।
सिंचाइ आयोजनाको पानी पुग्न नसकेको केही स्थानमा मात्र स्यालो ट्युबवेल तथा बोरिङबाट खेती हुने गरेको छ। जिल्लामा रहेका विभिन्न सिंचाइ आयोजना तथा नदीहरुबाट जम्मा ५२००४.८ हेक्टर तथा स्यालो ट्युबवेलबाट १८१३० हेक्टर क्षेत्रफलमा सिंचाइ हुँदै आएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ।
किसानको आवश्यक्ता अनुसार मलखाद्य पर्याप्त मात्रामा आइसकेको र प्रदेश सरकारको कृषि मन्त्रीले समेत जिल्लामा मलखाद्यको आपुर्तीमा कमि हुन नदिन आदेश जारी गरिसकेकोले यसवर्ष किसानलाई मलखाद्यको अभाव नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ।
प्रत्येक वर्षझै यसवर्ष पनि रोपाइकै सिजनमा आएर कृषि मजदुरको आभाव उत्पन्न भएको छ। अधिकांश युवाहरु मजदुरी गर्नका लागि भारतको दिल्ली ,पञ्जाब ,लुधियाना,मुम्बई, तामिलनाडु,मद्रास लगायतका ठाउँहरु तथा वैदेशिक रोजगारीमा गएकाले धान रोप्ने तथा अन्य बाली लगाउने बेला खेतमा काम गर्ने मजदुर पाउन मुस्किल पर्ने गरेको किसानको गुनासो छ।
सर्लाही जिल्लामा छिटफुट लोकल जातका धान बाहेक सबैभन्दा बढी हर्दिनाथ-६, ललका बासमति,सना मन्सुरी सव-६,स्वर्णा सव-१ र सुख्खा -३ जातका धानहरु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।