Loktantra Khabar National Weekly
Ad

बर्षात सुरु भएसँगै गाउँघरमा सर्पको बिगबिगी बढ्यो

लोकतन्त्र खबर
२० असार २०८१

मनोज यादव—-
सर्लाही,असाढ १९

बर्षात सुरु भएसँगै सर्लाहीसहित तराई मधेसका गाउँघरमा सर्पको बिगबिगी बढ्न थालेको छ। बर्षाको पानीले खेतबारीमा रहेका दुलोहरु भरिएपछि बाहिर निस्केका सर्पहरुको बिगबिगी बढेको हो ।

सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल तथा लालबन्दी नगरपालिका वडा न-१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशको उपचार गराउन आउने बिरामीहरुको संख्यामा दिनदिनै वृद्धि हुँदै गएको छ।

सामान्यतया वर्षासँगै दुलोमा पानी भरिंदा र चर्को गर्मीमा हावा खान सर्पहरु दुलोबाट बाहिर निस्कने गरेकाले पनि अहिले सर्पको बिगबिगी बढेको मलंगवा नगरपालिका वडा न-५ भाँडसरका त्रिलोकेन्द्र यादव बताउँछन् ।

दुईदिन अगाडी मात्र बागमती नगरपालिका वडा न–४, बस्ने राजेन्द्र तामाङका छोरा ११ वर्षीय रोजित तामाङको सर्पले डसेर मृत्यु भएको छ ।

आफ्नै घरमा खेलिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री उर्मिला देवी सिंह चौधरी पनि सर्पले डसेको आशंकामा नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किएकी छिन ।

उनलाई घरमा सुतिरहेको अवस्थामा राति अज्ञात जीवले हातमा टोकेको थियो पछिल्लो समय असारको मध्यमा भएको वर्षाका कारण सर्पहरु दुलोबाट निस्कने क्रम बढेकोले सर्पदंशका घटनाहरु बढेको चिकित्सकलहरु बताउँछन् ।

सर्पदंशका घटनामा खेतबारीमा काम गर्ने मानिसहरु बडी पर्ने गरेका छन् ।

खेतमा काम गर्दा,घाँसपातको काम गर्दा र शौचालय नहुँदा अध्याँरोमा दिसापिसाव गर्न बाहिर निस्कँदा सर्पदंशका घटना बढी हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: