लोकतन्त्र समाचारदाता—
सर्लाही,असाढ ९
कबिलासी नगरपालिकाकाले मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम शनिवारदेखि गैरमा सुरु गरेको छ ।
आयुर्वेद औषधालयको सभा हलमा संचालन भइरहेको उक्त तालिमको उपमेयर पुनम कर्णले उद्घाटन गरेकी हुन्।
वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउनका लागि वडा कार्यलयहरुबाट सिफारिस भएर आएका वडा न-१ देखि वडा न-१० सम्मक एकजना पुरुष, एकजना महिला र ३ जना न्यायीक समितिका पदाधिकारीहरु गरि जम्मा २३ जना सहजकर्ताहरुलाई सहभागि गराई तालिम संचालन भइरहेको सहयोगी संस्था सामुदायिक दिगो विकास सेवा समाज,मलंगवाले जानकारी दिएको छ।
तालिमको उद्घाटन गर्दै उपमेयर कर्णले न्यायलाई सबैको पहुँच सम्म पुर्याउन साथै विवादरहित समाज निर्माण गर्न यो तालिम सहयोगी बन्ने बताइन ।
स्थानीय तहका स-साना समस्याहरु समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनले बताइन् ।
न्यायीक समितिका संयोजक एवं नेपाल नगरपालिका संघकी केन्द्रीय कार्यसमिति सदस्य समेत रहनुभएकी उपप्रमुख कर्णले न्याय नपाएर पीडित भएका नागरिकलाई सहज रुपमा न्याय दिलाउनका लागि मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुने बताइन् ।
उनले आफ्ना नागरिकहरुलाई न्यायको अनुभूति दिलाउन नगरपालिकाले मेलमिलापकर्ताहरुलाई तालिम दिएको बताइन्।
जिल्ला अदालत सर्लाहीका शाखा अधिकृत एवं तालिमका प्रशिक्षक शिकिन्दर कापरले मेलमिलापको माध्यामबाट स्थानीय स्तरमा हुने गरेका विवाद निरुपणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले तालिमको अवधीमा सहभागीहरुलाई सानातिना विवाद हरुलाई आफ्नै गाउँ ठाउँमा समाधान गर्न सिकाउने बताए।
तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,कार्यपालिका सदस्य विनय कुमार कर्ण,कान्तिपुर दैनिकका सर्लाही जिल्ला सम्वाददाता ओमप्रकाश ठाकुर,सामुदायिक दिगो विकास सेवा समाज मलंगवाका कार्यक्रम निर्देशक हरिचन्द्र प्रसाद कुशवाहा,न्यायीक समितिका शाखा प्रमुख दिनकर यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन विरेन्द्र गुप्ताले गरेका थिए।
तालिम असाढ ८ गतेदेखि देखि असाढ १५ गतेसम्म चल्ने जनाइएको छ।

