Loktantra Khabar National Weekly
Ad

विषादीयुक्त आँप बजारमा छ्याप्प छ्याप्ती,अनुगमनकारी निकायको बेवास्ताका कारण उपभोक्ताहरु मन्द विषको सिकार बन्न बाध्य

लोकतन्त्र खबर
५ असार २०८१

मनोज यादव—
सर्लाही,असाढ ४

अहिले रुखमा फलेका आँपहरु पाक्ने बेला भएको छैन तर सर्लाहीसहित तराईका जिल्लाहरुमा रसायन हालेर पकाइएका भारतीय आँपहरु धमाधम विक्रि भइरहेको छ।

अनुगमनकारी निकायको वेवास्थाका कारण खुलेआम बिक्री भइरहेका यस्ता आँपको सेवन गरेर उपभोक्ताहरु मन्द विषको सिकार बनिरहेका छन् ।

कारवाइड नामक रसायन हालेर पकाइएको आँप खाँदा मानव स्वास्थ्यमा गम्भीर प्रतिकूल असर परिरहेको छ ।

सर्लाहीसहित तराईका स्थानीय बजारमा रसायन द्वारा पकाइएको भारतीय आँप खुलेआम विक्रि हुने गरेको छ । खासगरी प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्तिम सातादेखि भएपनि स्थानीय बजारहरुमा भने बैशाख महिना सुरु भएदेखि नै आँपको बिक्री हुन थालेको थियो ।

अहिले बजारमा बिक्रि भइरहेका बम्बई,दशहरी,बिज्जु,कृष्णभोग लगायतका आँप अधिकांश भारतबाट ल्याइएको पाइएको छ ।

रसायन द्धारा पकाइएको भारतीय आँपको परीक्षण नहुँदा उपभोक्ताहरु विषाक्त आँप खान बाध्य छन् ।

यस्ता आँपले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरु बताउँछन् ।

विषादी हालेर पकाएको।आँप खाँदा पेट दुख्ने, आँखामा चिलाउने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने जस्ता समस्याहरु देखिने गरेको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा को भनाई छ ।

स्थानीय व्यापारीहरु बढी मुनाफा कमाउने उदेश्यले भारतबाट ल्याउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि बजारमा लाने गर्दछन् ।

स्थानीय ब्यापारीहरुको मागमा खासगरी छिमेकी मुलुक भारतको विभिन्न शहरबाट काँचो आँप ल्याउने गरिन्छ । यसरी मगाइएको काँचो आँप गोदाममा भण्डारण गरि २४ घण्टा सम्म कारवाइड नामक हानिकारक रसायनमा राखिन्छ।

यसरी राखिएको आँप पाकिसकेपछि साना ब्यापारीहरु मार्फत ठेला, साइकल र टोकरीमा राखेर बिक्रीका लागि विभिन्न बजारहरु पठाउने गरिन्छ।

नेपाल-भारत सिमानाकामा रहेका सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई उनीहरूले नै तय गरेको केही निश्चित रकम तिरेर विभिन्न नाकाहरु हुँदै भारतबाट काँचो आँप ल्याएर यहाँका गोदामहरुमा भण्डारण गरिन्छ ।

रसायन हालेर पकाइएका यस्ता मन्द विषयुक्त आँप अहिले बजारमा रु एक सयको सवा किलोदेखि रु एक सयको डेढ किलो सम्म बिक्री भइरहेको छ ।

प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले नै बढी आर्थिक लाभ लिन रसायन हालेर काँचो आँपलाई कृत्रिमरुपमा २४ घण्टामै पकाएर बिक्री गरिएपनि सरोकारवालाको यसप्रति ध्यान पुगेको देखिंदैन ।

यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने नागरिक अगुवाहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्: