
मनोज यादव—-
सर्लाही,असाढ ४
समाजमा रहेका कतिपय मानिसहरु अझै पनि रुढिवादी परम्परा मै अल्झिरहेका छन्। यस्ता परम्परा तथा विकृतिहरुको शिकार विशेष गरी महिलाहरु नै हुने गरेकाले यसप्रति सचेत गराउनका लागी सर्लाहीको कबिलासी नगरपालिका वडा न-१० सलेमपुरको श्री साई बाबा सामुदायिक विकास उत्थान संस्थाले ग्रामीण महिलाहरुलाई सहभागी गराएर जनचेतना तथा सिप विकास तालिम प्रदान गरेको छ।
उक्त संस्थाले कबिलासी नगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने दलित,गरिब र विपन्न समुदायका महिला तथा पुरुषहरुको जिवनस्तर उकास्न विभिन्न सीप तथा रोजगार सम्बन्धि ज्ञान दिएर उनीहरुमा जनचेतना अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको तालिमकी सहजकर्ता मनिषा साहले बताइन्।
तालिममा सहभागी कबिलासी-८ अगर्वाकी चन्द्रकला यादव समयको परिवर्तनसंगै महिला हिंसाको घटनामा कमि आएको बताउँछिन्। पहिला अहिले जस्तो महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउन सक्ने अवस्था थिएन।
अहिलेका महिलाहरु सचेत हुँदै गएका छन् तर परिवार र समाजमा रहेको केही रुढिवादी सोचका कारण अझै महिलाहरु पीडित छन्।अहिले पनि आफूहरुको समाजमा बालबालिकाहरुको २० वर्ष नपुग्दै सानै उमेरमा विवाह गरिदिँदा बालिकाहरुले शारिरीरक तथा मानसिक समस्या सहनुपरेको उनले बताइन्।
आमबाबुले छोरीहरुको सानै उमेरमा विवाह गरिदिन्छन् अनि सानै उमेरमा छोरीहरु आमा बन्न पुग्छन, जसले गर्दा विभिन्न शारीरिक र मानसिक समस्या आउने गर्छ ,“यादवले भनिन्। हाम्रो समाजमा सम्बन्ध विच्छेदको घटनाहरु दाइजोकै कारण भइरहेको उनले बताइन्।
सोही तालिममा सहभागी समेमपुरकी फुल कुमारी देवीले यो तालिम पाइसकेपछि आफु भित्र रहेको रुढीबादी परम्परागत सोंचमा धेरै परिवर्तन आएको बताइन्। यस किसिमको तालिमले महिलाहरुको जिवनस्तरमा धेरै सकारात्मक परिवर्तन आएको उनी बताउँछिन्।
आफूहरु बुहारी भएर आउँदा सासुससुरा श्रीमान समाज सबैको बन्देजमा बस्नुपर्ने अवस्था थियो तर अहिलेका छोरी बुहारीहरुलाई पहिले जस्तो बन्देज नभएको उनले बताइन्।
प्रशिक्षक साहका अनुसार स्थानीय सरकार आएसंगै महिला जनप्रतिनिधिले गर्दा स्थानीय महिलाहरुलाई हिंसा सम्बन्धि आवाज उठाउन सहज भएको छ।
गाउँ गाउँमा महिला नेतृहरुले गर्दाले पहिलेको तुलनामा कुटपिटको घटनामा कमि आएपनि छोराछोरीको विभेद भने अझै यथावत रहेको उनले बताइन्।
उनका अनुसार अझै दलित समुदायमा छोरालाई विद्यालय पठाउने र छोरीलाई घरको काममा लगाउने जस्ता लैगिंक हिंसाका घटनाहरु यथावत छन्।
दाइजो प्रथाको विरुद्धमा शिक्षित वर्गले बाहिरी रुपमा बहिस्कार गरे पनि आन्तरिक रुपमा यसमा कुनै कमि नआएको सलेमपुरका स्थानीय समाजसेवी राजकुमार यादवले बताए।
यसप्रति राज्यले कडा नियम कानुन नबनाए यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने यादव बताउँछन्।
श्री साई बाबा सामुदायिक विकास उत्थान संस्थाले आयोजना गरेको उक्त तालिममा सहभागी भएका लक्षित समुदायका महिला तथा पुरुषहरुलाई सुजित साह,बनिता कार्की , बिरेन्द्र गुप्ता र मनिषा साहले सहजिकरण गरेको तालिमका संचालक एवं आयोजक संस्थाका सदस्य आकाश कुमार यादवले जनाएको छ।