Loktantra Khabar National Weekly
Ad

मलंगवामा दलितको विद्यार्थीहरुको शिक्षामा पहुँचको लागि स्थानीय सरकार र शैक्षिक सरोकारवालाहरु बिच समन्वयात्मक अन्तरक्रिया

लोकतन्त्र खबर
९ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ९

दलित विद्यार्थीहरुको शिक्षामा पहुँचको लागि सहभागीता मुलक योजना प्रक्रियालाई लक्षित गरि स्थानीय सरकार तथा शैक्षिक सरोकारवालाहरु बिच एकदिने समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न भएको कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति ,विद्यालयमा दिइने दिवा खाजा र विद्यालयमा दलित विद्यार्थीहरु माथि हुने विभेद लगायतका विषयहरुमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा सहभागी शैक्षिक सरोकारवालाहरुले शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्नमा आर्थिक, सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक पक्षहरू अवरोध बनेको बताएका थिए।

शिक्षामा दलितको पहुँच निर्धारण गर्न मनोवैज्ञानिक पक्षले निकै ठूलो भूमिका खेलेकोले दलित समुदायलाई गैरदलितले तथा दलित समुदाय आफैँले हेर्ने दृष्टिकोणका कारण पनि दलितलाई शिक्षा प्राप्त गर्न चाहिने सहज वातावरण सिर्जना नभएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले बताउनुभयो ।

विभेदपूर्ण मानसिकताले दलित समुदायका बालबालिकालाई विद्यालय जान दुरुत्साहन गरिरहेकोले अभिभावकहरुको सोंचलाई परविर्तन गरि बालबालिकालाई विद्यालय पठाउन उनीहरूलाई प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा जिसस प्रमुख सिंहको प्रमुख आतिथ्यतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश सांसद शकुन्ती देवी महरा,शिक्षा विकास समन्वय समिति इकाई सर्लाहीका प्रमुख तारापति खरेल,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, बालगोविन्द मावि पिपरियाका प्रअ गौरी पंडित,युवा राजनीतिकर्मी महेश पासवान ,NNDSWO का सदस्य सोगारथ पासवान,लगायतले दलितको शैक्षिक सवालमा आआफ्नो धारणा राख्दै सुझाव दिएका थिए।

कार्यक्रमको संचालन संस्थाका जिल्ला कार्यक्रम अधिकृत गोविन्द पासवानले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: