Loktantra Khabar National Weekly
Ad

मलंगवामा दिगो विकास लक्ष्य प्राप्तिका लागि लेखाजोखा तथा कार्यढाँचाको दुईदिने अभिमुखीकरण सम्पन्न

लोकतन्त्र खबर
९ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ९

विद्यालयमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भए गरेका क्रियाकलापहरुको लेखाजोखा तथा स्थानिय तहमा शिक्षाको राष्ट्रिय कार्यढाँचाको अभिमुखीकरण कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा तथा मलंगवा नगरपालिको सहकार्यमा संचालित २ दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

मलंगवा नगरपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको कार्यक्रममा नेपाल सरकारको दिगो विकासको १७ वटा मध्ये शिक्षा सम्बन्धि लक्ष्यमा उल्लेख भएको सबैको लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तथा आजीवन सिकाइलाई प्रवर्द्धन गर्न मलंगवा न.पा मा भएका प्रगतिहरुको लेखाजोखा, जिल्ला र राष्ट्रिय स्तरको अवस्थाको विषयमा छलफल तथा समिक्षा गरिएको शिक्षा शाखाका संयोजक प्रमोद मण्डलले जानकारी दिए।

कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने काम तथा नगरपालिकाको योजना बनाउँदा दिगो विकास लक्ष्यलाई आधारित बनाएर पुरा गर्नु पर्ने कामहरुको विषयमा समेत समिक्षा गरिएको शिक्षा शाखा संयोजक मण्डलले जानकारी दिए।

कार्यक्रममा सहभागी मलंगवा न.पा अन्तर्गतका विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधिहरुले आ-आफ्नो विद्यालयमा दिगो विकास प्राप्तिका लागि भए गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए।

शिक्षा विकास समन्वय समिति इकाई सर्लाहीका प्रमुख तारापति खरेलको अध्यक्षता तथा युनेस्को आयोगका सदस्य कमलेश्वर कुमार सिन्हाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ठ अतिथि युनेस्कोका पद्मराज जोशी तथा युनेस्को सामाजिक समिति सदस्य भुपनारायण अधिकारी,रामेश्वर राय यादव,युनेस्को आम संचार समिति सदस्य जितेन्द्र प्रसाद सिंह,विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: