
मनोज यादव—
सर्लाही,बैशाख ३०
नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनको उद्घाटन आज(आइतवार) सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।
नयाँ नेतृत्व चयनका लागि बैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म हुन लागेको पार्टीको नवौं जिल्ला अधिवेशनको मलंगवा नगरपालिका वडा न-२ स्थित जिल्ला खेलकुद विकासको खेल मैदानमा आयोजित एक भब्य समारोहका बिच प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन।
नवौं अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न हुनेमा कुनै शंका नरहेकोले सकभर सर्वसम्मत र नभए लोकतान्त्रीक प्रकृयावाट नेतृत्व चुन्ने जिल्ला अध्यक्ष राजनारायण साहले बताएका छन् ।
एमाले सर्लाहीले जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर विगतमा जिल्लाको प्रमुखको रुपमा नेतृत्व गर्दै आएका एक दर्जनभन्दा बढी एमाले नेताहरुलाई सम्मानित समेत गरिएको छ।
जिल्ला अध्यक्ष साहको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा रक्षामन्त्री हरि उप्रेती ,पार्टीका केन्द्रीय कमिटी सचिव तथा मधेस प्रदेश कमिटी इन्चार्ज योगेश भट्टराईसहित एमालेका केन्द्रीय, प्रदेश ,जिल्ला,नगर तथा गाउँ स्तरका नेता लगायत हजारौंको संख्यामा पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जिल्ला अधिवेशन अन्तर्गतका बन्द सत्र भोली(सोमबार) बिहान ९ बजेबाट सुरु हुने कार्यक्रमका संचालक तथा एमाले सर्लाहीका उपाध्यक्ष बिदुर प्याकुरेलले जानकारी दिए ।
जिल्ला अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसंगठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना गरी ६१० जना र आयोजक कमिटीले मनोनित गर्ने ५ प्रतिशत मनोनित ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जना प्रतिनिधिले बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिने छन् ।