Loktantra Khabar National Weekly
Ad

इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

लोकतन्त्र खबर
२५ बैशाख २०८१

काठमाडौं  वैशाख २५, हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ ।

रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ ।

सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो ।

त्यसपछि ठूलो संख्यामा प्यालेस्टिनीहरु र घरबार छाडेर हिँडेको देखिएको छ । उनीहरु बालबच्चा, झोलाझ्याम्टा बोकेर उत्तरी रफाको खानयुनिसतर्फ गइरहेका छन् ।

इजरायली सेनाका प्रवक्ताले रफाबाट एक लाख प्यालेस्टिनीलाई बाहिर निकाल्न लागेको बताएका छन् ।

हमासले भने रफामा आक्रमण गरेर इजरायलले तनावलाई अझ बढाएको टिप्पणी गरेको छ । यसको परिणाम इजरायलले भोग्नुपर्ने चेतावनी दिँदै हमासले बन्धकहरुलाई मुक्त गर्न बाधा पुग्ने चेतावनी पनि दिएको छ ।

हमासको तर्फबाट वार्ता टोलीमा संलग्न सामी अबु जुहारीले इजरायल–अमेरिका मिलेर प्यालेस्टिनीमाथि आक्रमण गरेको भन्दै त्यसलाई आतंकवाद भनेका छन् र यसको जम्मेवारी अमेरिकाले पनि लिनुपर्ने बताएका छन् ।

इजिप्टले कतारसँग मिलेर हमासको नियन्त्रणमा रहेका १३२ जनालाई रिहाइ गर्न मध्यस्थता गर्दै आएको छ ।

पछिल्लोपटक इजिप्टको राजधानी कायरोमा इजरायल र हमासका वार्ता टोली सदस्यहरुबीच दुई दिनसम्म वार्ता भएको थियो । तर वार्ता निष्कर्षविहीन भएको थियो ।

वार्ता निष्कर्षविहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला समेत भएको छ ।

गाजा क्षेत्रबाट भएको सो हमलामा परी आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: