
मधेस प्रदेशमा बालविवाह एक गम्भीर सामाजिक समस्याको रुपमा रहेको छ।
यो समस्या मधेसको मात्र नभइ देशभरिको छ। हामीले यसलाई परापूर्वकालदेखि चल्दै आएको परम्पराको रुपमा निरन्तरता दिंदै आइरहेका छौं ।
यतिबेला विवाहको सिजन चलिरहेको छ। ग्रामीण क्षेत्रमा अझै पनि ठूलो संख्यामा बालविवाह भइरहेको छ।बालविवाह भइरहेको छ भन्ने थाहा हुँदाहुँदै पनि यसलाई रोक्नुको साटो हामीहरु त्यसमा सरिक भइरहेका छौं ।
यसो त बालविवाह गर्नु कानूनी अपराध भएको सबैले बुझेका छन् तर पनि बालविवाह भइरहेकाले यसमा सबै वर्गका मानिसको संलग्नता हुने गरेको कुरालाई नकार्न भने सकिन्न ।
कानूनतः विवाहको लागि २० वर्ष उमेर तोकिएको छ । यो उमेर हदभन्दा बढीमा गर्न सकिन्छ तर कम उमेरमा गर्दा कानून लाग्छ।
विवाहको उमेर २० वर्ष हो भन्ने कुरा प्रायः जसो सबै किशोकिशोरी र अभिभावकहरुलाई जानकारी छ । विद्यालयमा पनि किशोर किशोरीहरुलाई बालविवाह बाट हुने बेफाइदाहरुको विषयमा जानकारी गराइन्छ ।
तर पनि विविध कारणवश हाम्रो समाजमा बालविवाह भइनै रहेको छ । घरपरिवारमा केही समस्या भएका, हजुरबुबा/आमाले बढी कर गर्ने तथा अभिभावक आफ्नो दायित्वबाट चाँडो मुक्त हुन खोज्दा अनि छोराछोरीको योग्य जोडी मिलेको आधारमा बालविवाह हुने गरेको पाइन्छ ।
पछिल्लो समय समाजमा प्रेम सम्बन्ध पर्ने र अभिभावकको मन्जुरी बिना आफुले मनपराएको केटा वा केटी सँग भागेर विवाह गर्ने चलन बढ्न थालेकोले समाजमा ईज्जत जोगाउनको लागि पनि बालविवाह हुने गरेको पाइन्छ बालविवाह गर्नबाट अभिभावकलाई रोक्न समाज अझै तयार भएको देखिंदैन।
बालविवाहविरुद्ध काम गर्ने गैरसरकारी संस्था र त्यसमा कार्यरत सामाजिक अभियन्ताहरु समेत गाउँघर, टोल, छिमेक, नातागोता, परिवारमा बालविवाह भइरहेको रोक्न सकिरहेका छैनन् ।
तर कतिपय ठाउँमा किशोरीले हिम्मत जुटाएर बालविवाहविरुद्ध आवाज उठाएको पनि समाचारहरु सुन्नमा आएको छ।अहिले बालविवाह एउटा चुनौतीको रूपमा रहेकोले यसलाई सबै मिलेर रोक्नु जरुरी छ।