Loktantra Khabar National Weekly
Ad

बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपको मुद्दा हेर्न नमिल्नेमा

लोकतन्त्र खबर
२३ बैशाख २०८१

उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ।

लामिछानेको मुद्दा आइतबार न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो।

न्यायाधीश निरौलाले विपक्षी झिकाउने आदेश गरेकाले हेर्ने नमिल्ने भएको सूचना अधिकारी तिर्थराज निरौलाले बताए। आफूले पहिल्यै सुनुवाइ गरी धारणा व्यक्त गरिसकेको मुद्दामा अर्को पटक न्यायाधीशहरूले सुनुवाइ गर्दैनन्।

लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी उच्च सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो। त्यस्तै लामिछानेले पनि आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिएका थिए।

दुबै पुनरावेदनलाई उच्च अदालतले एकैसाथ राखेर सुनुवाइ गर्ने भएको हो।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: