
मनोज यादव—-
सर्लाही,बैशाख २३
सर्लाहीका २० स्थानीय तह मध्ये १८ वटा स्थानीय तहहरु अझैपनि दमकल विहिन रहेका छन् ।
जिल्लाको सदरमुकाम मलंगवा र पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हरिवन नगरपालिका सँग एक-एक वटा मात्र दमकलहरु रहेका छन् ।
हरिवन नगरपालिका सँग रहेको दमकल संचालनमा रहेपनि मलंगवा नगरपालिकाको दमकल भने घरिघरि विग्रिएर बढी समय मर्मतको लागि जिल्ला बाहिर रहने गरेको छ।
मलंगवा नगरपालिका वडा न-८ अमित अग्रवालले यसअघि पाँच वर्षे कार्यकाल बिताइसकेका र हाल पदमा रहेका जनप्रतिनिधिहरु अत्यावश्यक दमकल खरिदमा चासो नदेखाएकाले वर्षेनि सुख्खा याममा स्थानीयहरुले आगलागीबाट ठूलो जनधनको क्षति बेहोर्दै आएको बताए ।
यस जिल्लाका पालिकाहरुसँग आफ्नै दकमल नहुँदा बर्सेनि सुक्खा यामामा हुने आगलागी नियन्त्रणमा समस्या हुँदै आएको अग्रवालले बताए।
सर्लाहीमा कहीँकतै आगलागी भए मलंगवा र हरिवन नगरपालिकाकै दमकल पुग्ने गरेको छ। ।
ग्रामीण भेगका पालिकाहरुमा आगलागीको घटना भएको बेला समयमै दमकल पुग्न नसक्दा ठूलो जनधनको क्षति हुँदै आएको छ।
लाखौंको गाडी चढ्ने तर जनतासँग प्रत्येक्ष सरोकार राख्ने दमकल किन्न नचाहने पालिका प्रमुखहरुले यस विषयमा गम्भीर भएर लाग्नुपर्ने स्थानीय बुद्धिजीवीहरुको भनाइ छ।
मलंगवा नगरपालिकाका सूचना अधिकृत राजकुमार अधिकारीका अनुसार जिल्लाको पुर्व तथा पश्चिम,दक्षिण क्षेत्रका ग्रामीण भेगमा कहिकतै आगलागीको घटना हुँदा मलंगवा नगरपालिकाकै दमकल पठाउनु परेको छ।
आगलागी भएको समयमा दमकल जुनसुकै पालिकामा पठाउनु पर्ने तर खर्च भने मलंगवा नगरपालिका एक्लैले बेहोर्नु पर्दा दमकल संचालनमा समस्या भइरहेको उनी बताउँछन् ।
सुक्खा र हावाहुरीको समयमा कहिले काँहीं एकै समयमा दुईदेखि तीन ठाउँमा आगलागीको घटना भइदिंदा यस पालिकासँग रहेको एकमात्र दमकलले त्यति ठूलो क्षेत्रलाई भ्याउन नसक्ने भएकोले दुई या दुई भन्दा बढी स्थानीय तहहरु मिलेर संयुक्त रुपमा दमकल खरिद गर्ने सके आगलागीबाट हुने क्षति कम गर्न सकिने सूचना अधिकृत अधिकारीको भनाइ छ।
गत बुधबार र बिहीबार मात्र जिल्लाको हरिपुर्वा नगरपालिका तथा धनकौल र विष्णु गाउँपालिकामा आगलागी हुँदा झण्डै ९० वटा घरहरु जलेर पुर्णरुपमा नष्ट भएका छन् ।