Loktantra Khabar National Weekly
Ad

एसएसबी सँगको सहकार्यमा नो मेन्स लैण्डमा भएका अधिग्रहण हटाउने काम भइरहेको सशस्त्र प्रहरी नायव महानिरिक्षक दीपेन्द्र शाहको भनाई

लोकतन्त्र खबर
२० बैशाख २०८१

मनोज यादव—-
सर्लाही,बैशाख २०

जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन सीमा व्यवस्थापन लगायतका जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर सर्लाहीले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ ।

बुधबार कबिलासी नगरपालिका वडा न-८ अगर्वा स्थित गणको कार्यालयमा आयोजित बार्षिकोत्सव विशेष कार्यक्रममा गण तथा गण मातहतका कार्यालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह ,कबिलासी नगरपालिका प्रमुख ब्रम्हदेव राय,उपप्रमुख पुनम कर्ण,सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको विशिष्ट अतिथिको रूपमा उपस्थिति रहेको थियो ।

कार्यक्रमका अतिथिहरुले गणको नाम अंकित केक काटी , बेलुन उडाई गणको स्थापना दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिहरुले गणले १७ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

गणमा कार्यरत कर्मचारीहरुले सांकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपस्थित विशिष्ठ अतिथिहरुले गणको स्थापना दिवसको शुभकामना दिँदै जिल्लाभर खटिएका सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंशा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिआईजी दीपेन्द्र शाहले गणको स्थापना दिवसको शुभकामना दिँदै नागरिकहरुको मानव अधिकारको सम्मान गर्दै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक रूपमा परिचालित हुन मातहतका अधिकृत तथा जवानहरुलाई निर्देशन दिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नं. १० गण लगायत मधेश प्रदेशका अन्य इकाईहरुको मेहनत तथा उच्च स्तरको कार्यसम्पादनका कारण नं. २ छिन्नमस्ता बाहिनीलाई यस वर्षको उत्कृष्ट बहिनीको रूपमा प्रधान कार्यालयले पुरस्कृत गरेको जानकारी गराउनुभयो ।

भारतसँग सिमा जोडिएका नो मेन्स लैण्डमा भएका अधिग्रहणलाई भारतीय समकक्षी एसएसबी सँग सहकार्य गरेर क्लियर गर्ने कार्य समेत गरिरहेको उहाँले जानकारी गराउनुभयो।

कार्यक्रममा गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनालले अतिथिहरुमा धन्यवाद ज्ञापन गर्दै गणको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार २०६४ साल चैत ८ गते जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित दुर संचार संस्थानको कार्यालयमा सीमा सुरक्षा कार्यालय सर्लाहीको नामबाट स्थापना भएको कार्यालय २०७१ साल श्रावण ७ गतेबाट कबिलासी न.पा वडा न-८ अगर्वा स्थित आफ्नै कार्यालयको नाममा रहेको २७ बिगहा १२ कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा भवन निर्माण पश्चात् स्थानान्तरण भई कार्य संचालन हुँदै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्: