Loktantra Khabar National Weekly
Ad

ग्रामीण तथा सहायक सडकमा अन्न बाली सुकाउँदा दुर्घटनाको जोखिम

लोकतन्त्र खबर
१९ बैशाख २०८१

मनोज यादव—
सर्लाही,बैशाख १९

सरकारले सवारीसाधनहरुको सहज आवागमनको लागि करोडौं रकम खर्च गरेर बनाएको सडक स्थानीयले अन्नबाली सुकाउन र गाईबस्तु बाँध्ने काममा प्रयोग गर्न थालेका छन् ।

सर्लाही जिल्ला अन्तर्गतको हुलाकी राजमार्ग सँग जोड्ने ग्रामीण तथा सहायक सडकमा घान,गहुँ ,मकै लगायतका अन्नबाली सुकाउने स्थानीयहरु बिच होडबाजीनै चलेको छ ।

यसरी सडकमा असरल्ल अन्नबाली सुकाइँदा दुर्घटनाको जोखिम बढेको छ ।

जिल्लाको लगभग सबै ठाउँको सडक कालोपत्रे र ढलान भइसकेकोले ती सडकमा सवारीसाधन गुड्ने ठाउँ पनि नछोडी अन्नबाली सुकाउने गरिएकोले यसले सवारी दुर्घटनाको जोखिम बढाएको कबिलासी नगरपालिका गैर निवासी बस चालक मनोज कुमार साहले बताए ।

जिल्लाको अधिकांश भित्री सडकहरुमा स्थानीयले अन्नबालीको साथसाथै पराल, गाईबस्तुलाई ओछ्याउने पतिङ्गर समेत राख्ने गरेका छन् ।

घर आँगनमा सुकाउने ठाउँ नभएकोले सडक प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ।कालोपत्रे सडक एकैछिनमा तातिने तथा धान,गहुँ,मकै,दलहन लगायतका खाद्यान्न सुकाउन सजिलो हुने र छिट्टै सुक्ने भएकाले सडकको प्रयोग गरेको एकजना स्थानीय किसानले बताए।

यसरी अन्नबाली,पराल लगायतका बस्तुहरु सुकाउँदा र गाईबस्तु बाँध्दा सडक अवरुद्ध भई दुर्घटना हुन्छ भन्ने बारेमा जान्दाजान्दै पनि स्थानीयले यस्तो कार्य गर्दै आएका छन् ।

कतिपय स्थानमा स्थानीयहरुले सडकको आधा भन्दा बढी भाग कब्जा गरेर घर बनाउन गिट्टी, बालुवालगायतका निर्माण सामग्री थुपारेर राखेका छन् ।

यस्तो कार्य रोक्न वडा स्तरका जनप्रतिनिधिहरुलाई कडाइका साथ प्रस्तुत हुनपर्ने मानवअधिकारकर्मी मुकेश मिश्रको सुझाव छ।

 

प्रतिक्रिया दिनुहोस्: