अमेरिकी संसदले गत हप्तामात्रै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहयोग दिने प्रस्तावलाई पारित गरेको थियो । उक्त सहयोगमा युक्रेनी सेनाका लागि अत्याधुनिक हातहतियार, गोलाबारुद, प्रतिरक्षा प्रणाली लगायत छन् ।
अमेरिकी हतियार युक्रेनसम्म पुग्नुअघि नै रुसले पूर्वी क्षेत्रमा आफ्ना फौज पूर्वी क्षेत्रमा केन्द्रित गरी आक्रमण जारी राखेको छ । युक्रेनी सेना प्रमुख ओलेकजेण्डर सिरिस्कीका अनुसार युक्रेनी सेनाका लागि सबैभन्दा कठिन अवस्था मौरिन्काको पश्चिम र अवदिब्काको उत्तर पश्चिम क्षेत्रमा छ । अबदिब्कामाथि रुसका सैन्य बलले गत फेब्रुअरी महिनामै कब्जा गरिसकेका थिए । युक्रेनका सेना प्रमुखले रुस केही स्थानमा रणनीतिक हिसाबले अघि बढेको बताएका छन् । तर रुस सफल नहुने उनको जिकीर छ ।
युक्रेनले अब आराम गरिरहेका सेनाका ब्रिगेडलाई फेरि युद्धको मोर्चामा पठाउने र अहिले लडिरहेकाहरुलाई पछि हटाउने जनाएको छ । अनलाइन खबर