Loktantra Khabar National Weekly
Ad

मालदिभ्सको संसदमा भारत विरोधी राष्ट्रपति मुइज्जुको बहुमत

लोकतन्त्र खबर
१० बैशाख २०८१

काठमाडौं  वैशाख १०,  मालदिभ्समा ‘भारत छोड’ अभियान चलाएर चर्चामा आएका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस (पीएनसी)ले संसदमा भारी बहुमत हासिल गरेको छ ।

आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ ।

यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० सिट जितेका छन् ।

गत वर्ष सेप्टेम्बरमा भारत निकट मानिने मोहमम्द सोलिहलाई हराएर चीन निकट मानिने मुइज्जु राष्ट्रपति बनेका थिए । तर संसदमा भने सोलिहकै मालदिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

चुनाव आयोगका अनुसार आइतबार स्थानीय समय अनुसार साँझ पाँच बजेसम्म करिब दुई लाख जनाले मतदानमा भाग लिएका थिए । ७२.९६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

९३ सिटका लागि भएको निर्वाचनमा ३६८ जना उम्मेदवार थिए । तीमध्ये १३० उम्मेदवार स्वतन्त्र थिए ।

मालदिभ्सको मिडिया हाउस द एडिसनका अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिने कार्यकालको परीक्षा थियो । उनी सन् २०२३ को सेप्टेम्बरमा ‘इण्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति चुनिएका थिए ।

उनले भारतीय सेनालाई ६ महिनाभित्र मालदिभ्स छाड्न भनेका थिए । भारतविरोधी उनको कदमले दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । भारतले पनि मालदिभ्सका कूटनीतिज्ञहरुलाई भारत छाड्न निर्देशन दिएको थियो ।

साथै मालदिभ्स भ्रमणका लागि भनेर भारतीयहरुले गरेको होटल बुकसमेत रद्द गराइएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: