Loktantra Khabar National Weekly
Ad

नेपाल-भारत सिमामा संचालित १० दिने महाविष्णु महायज्ञ सम्पन्न

लोकतन्त्र खबर
७ बैशाख २०८१

मनोज यादव—

सर्लाही,बैशाख  ७

सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल-भारत सिमामा संचालित  श्री श्री १००८ श्री महाविष्णु महायज्ञ एवं नवाह पाठ तथा मेला सम्पन्न भएको छ।

महायज्ञ मुल समारोह समितिका अध्यक्ष धिरेन्द्र मिश्रको अध्यक्षता तथा मलंगवा नगरपालिकाकी मेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यतामा बिहीबार राती एक विशेष समारोहको आयोजना  उक्त महायज्ञ तथा मेलाको विधिवत रुपमा सम्पन्न भएको हो।

प्राचीन कालदेखि दुवै देश बिच चल्दै आएको बेटी रोटीको सम्बन्धलाई थप सुमधुर बनाउन साथै धार्मिक सद्भावको सन्देश दिन भन्दै मलंगवा नगरपालिकाको वडा न-२ र ८ स्थित सर्लाही भन्सार कार्यालय र भारतको सोमबर्षा(हनुमान चौक)नजिक उक्त महायज्ञ तथा मेलाको आयोजना गरिएको थियो। उक्त महायज्ञको मलंगवा न.पा का मेयर नागेन्द्र प्रसाद यादवले उद्घाटन गरेका थिए।

महायज्ञको उद्घाटन समारोहका दिन दुवै देशका पन्ध्रसय भन्दाबढी कन्याहरु द्वारा बाजागाजा र झाँकी सहित विशाल कलश यात्रा निकालिएको थियो।

मलंगवाको बजार क्षेत्रमा निकालिएको कलश यात्रामा दुवै देशका नागरिकहरुले सहभागीता जनाएका  थिए।

गत चैत्र २७ गतेदेखि बैशाख ६ गतेसम्म संचालित उक्त  महायज्ञमा मलंगवा र मलंगवा आसपासका सहित भारतको सोनवर्षा,रमनगरा,भलुआहा,भुतही, आररिया,रजवाडा,मुसहरनिया,चक्की मयुरवालगायतबाट हजारौं श्रद्धालुहरूले  सहभागीता जनाएको महायज्ञ मुल समारोह समितिले जानकारी दिए।

दुई छिमेकी देश नेपाल र भारतको मात्र नभइ समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै महाविष्णु महायज्ञको आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष धिरेन्द्र मिश्रले बताए ।

उनले महायज्ञ सफल गराउन सहयोग पुर्याउने सम्पूर्ण व्यक्तिलाई धन्यवाद समेत दिएका छन् ।

समापन कार्यक्रमको अवसरमा महायज्ञ र मेलालाई सफलतापुर्वक सम्पन्न गराउन आ-आफ्नो स्तरबाट सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई   समितिले धन्यवाद स्वरुप कदर पत्रद्वारा सम्मान समेत गरेका थिए।

समापन समारोहमा  विशिष्ट अतिथि मलंगवा न.पा-२ का वडाअध्यक्ष धिरेन्द्र साह,वडा न-३ का वडाअध्यक्ष प्रमोद राय,राजनितीकर्मी राजनारायण साह,चन्द्र किशोर साहसहित स्थानीय समाजसेवी ,बुद्धिजीवी ,साधुसंत,  पत्रकार ,सुरक्षाकर्मी,समितिका सदस्यहरु लगायत दुवै देशका सयौं महिला पुरुष श्रद्धालुहरुको उपस्थिति रहेको थियो।

उक्त १० दिने महायज्ञमा हरेक दिन श्री गौ कथा , रामलिला, रासलिला र रामनामको जपको साथसाथै  बनारसका प्रसिद्ध कथा वाचक आचार्य श्री अशोक पाण्डे द्वारा प्रवचनको कार्यक्रम राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्: