Loktantra Khabar National Weekly
Ad

चर्को घाम र तातो हावाले सर्लाहीसहित तराईको जनजिवन प्रभावित

लोकतन्त्र खबर
६ बैशाख २०८१

मनोज यादव—-
सर्लाही,बैशाख ६

पछिल्लो केही सातादेखि सर्लाहीलगायत तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।

दिउँसोको समयमा लाग्ने चर्को घामका साथै चल्ने तातो हावाका कारण सर्लाहीसहित महोत्तरी , रौतहट ,धनुषा,सिरहा,सप्तरी लगायतका जिल्लाहरुका सर्वसाधारणहरुको जनजिवन प्रभावित भइ कष्टकर बनेको हो।

अत्याधिक गर्मीले गर्दा बजारमा मानिसहरुको चहलपहल घटेको छ भने कार्यालयहरुमा समेत सेवाग्राहीको उपस्थिति पातलिएको छ।

सर्लाहीको सदरमुकाम मलंगवा,लालबन्दी, हरिवन, बरहथवा, बयलवास, हरिपुर, गोडैतालगायतका शहर बजारहरु सुनसान बनेका छन् ।

बढ्दो गर्मीका कारण खेतीपातीको काम समेत प्रभावित बनेको छ। दैनिक ज्यालामजदुरीमा निस्कनुपर्ने मजदुर र खेतबारीको काम गर्नुपर्ने किसानहरुलाई घर भित्रै थन्किएर बस्नु परेको छ।

कोही दिनभरि सुतेर समय कटाइ रहेका छन् भने कोही छहारीमा साथीहरू सँग गफ्फिएर समय कटाइ रहेका छन् ।

आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नभएर चिन्तित बनेका व्यवसायीहरु गर्मीले गर्दा बजारमा मानिसको चहलपहल घटेसँगै थप मारमा परेका छन् ।

मलंगवा स्थित वित्तीय बैंकका कर्मचारीहरुका अनुसार अन्य महिनाको तुलनामा चैत्र,बैशाखको महिनामा सेवाग्राहीहरु बैंकमा वित्तीय कारोबारका लागि कम आउने गरेका छन्। यो मौसममा बित्तिय कारोबारमा समेत गिरावट आउने गरेको उनीहरु बताउँछन्।

मौसममा आएको परिवर्तनले मानव स्वास्थ्यलाई पनि असर पारेको छ।

उच्च तापक्रम र तातो हावा(लु)का कारण बालबालिका तथा वृद्धवृद्धाहरु बिरामी हुन थालेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गम्हरियाका चिकित्सक रामविनय यादवका अनुसार गएको चैत्र महिनादेखिनै तराईमा पानी नपर्दा बढेको गर्मीका कारण शरिरमा घाउ खटिरा, आउँमासी, टाइफाइड ,रुघाखोकी , झाडापखाला,अपचलगायतका रोगबाट संक्रमित बिरामीहरु बढेका छन।

चिकित्सकले चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर हिँड्डुल गर्दा मास्क लगाउन, प्रशस्त पानी पिउन, बाहिरका खानेकुरा नखान र स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: