
लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख ५
सर्लाहीको सदरमुकाम मलंगवासहित जिल्लाभरीका बजारहरुमा हरियो तरकारीको भाउ ह्वात्तै बढेको छ।
पछिल्लो केही सातादेखि बजारमा पाइने हरियो सागपात देखि सबैखाले तरकारीहरुको भाउ बढेर सर्वसाधारण उपभोक्ताहरुको लागि छोइनसक्नु भएको छ।
तरकारीको मात्र नभइ खाद्यान्न सामाग्रीहरुको पनि मुल्य आकाशिएकोले सर्वसाधारण उपभोक्ताहरुको भान्सा खर्च बढेको मलंगवा नगरपालिका वडा न-९ की एक गृहणी रुक्मिणी कर्णले गुनासो गरिन्।
बार्हैमास प्रयोग हुने आलु प्याजको समेत मूल्य बढेको उनले सुनाइन् ।
मलंगवा नजिकै पर्ने भारतीय बजार सोनवर्षामा प्याज प्रति किलो २० रुपैयाँ भारुको दरले बिक्री भइरहेको छ। नेपाली बजारमा भने त्यही प्याज प्रति किलो ६० रुपैयाँको दरले बिक्री भई रहेकोछ ।
त्यस्तै आलु भारतीय बजारमा प्रति किलो १५ देखि १६ रुपैयाँ प्रति किलोको दरले विक्री भइरहेको छ भने नेपाली बजारमा प्रति किलो ४५ देखि ५० रुपैयाँको दरले बिक्री भइरहेको छ ।
हुन त , मौसमले तरकारीको बालीमा केही समस्या ल्याए पनि व्यापारीहरुले बढी नाफा कमाउने उद्धेश्यले चर्को मुल्यमा बिक्री वितरण गर्दा आम उपभोक्ताहरुलाई महंगीको मार खेप्नु परेको मलंगवाका शिक्षक बिजय यादवले बताए ।
बजार अनुगमन नहुँदा व्यापारीहरुको मनोवल बढेको देखिन्छ ।