Loktantra Khabar National Weekly
Ad

भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु

लोकतन्त्र खबर
२७ चैत्र २०८०

भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इण्डियाका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो।

दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो। मृतक सात जना महेन्द्रनगरका रहेको टाइम्स अफ इण्डियाले समाचारमा उल्लेख गरेको छ।

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन्।

आउटलुक इण्डियाका अनुसार बेतालघाटको उचकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे।

काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए।

मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्। सेतोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: