Loktantra Khabar National Weekly
Ad

सडक बत्तीको बक्यौता तिर्न स्थानीय तहलाई विद्युत प्राधिकरणको ताकेता

लोकतन्त्र खबर
१६ चैत्र २०८०

काठमाडौं  चैत १६, नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न भनेको हो ।

विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक परे किस्ताबन्दीको सुविधा माग गरी बक्यौता महसुल भुक्तानी गर्न पनि प्राधिकरणले भनेको छ ।

सडकबत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र विनामिटर अनधिकृत तवरबाट सडक बत्ती जडान गर्नेहरुको लाइन जुनसुकै बेला काट्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।

प्राधिकरणका अनुसार स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेबाफत करिब ६ अर्बभन्दा बढी बक्यौता छ । गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।

तर सडक बत्तीको महसुलको विषयमा प्राधिकरण र स्थानीय तहबीच लामो समयदेखि विवाद हुँदै आएको छ । विराटनगर महानगरपालिकालाई प्राधिकरणले सडकबत्तीको बक्यौता तिर्न भन्दा महानगरपालिकाले उल्टै प्राधिकरणलाई पत्र लेखेर सम्पत्ति कर र बिजुलीको पोलको भाडा माग गरेको थियो ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: