अमेरिकी राष्ट्रिय सुरक्षा कानुनमा अमेरिकी सरकारले आग्रह गरेको अवस्थामा चिनियाँ कम्पनीले तथ्यांक उपलब्ध गराउनुपर्ने प्रावधान छ । टिकटकलाई अमेरिकी प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोप लागे पनि बाइट डान्सले भने अस्वीकार गर्दै आएको छ । अमेरिकामा करिब १० करोड ५० लाख टिकटक प्रयोगकर्ता छन् ।
टिकटकका प्रमुख कार्यकारी अधिकृत सोवु झीले टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनेको अवस्थामा सीमित सामाजिक सञ्जाल कम्पनी शक्तिशाली हुने र हजारौं अमेरिकीले जागिर गुमाउने बताएका छन् । ‘हामी कसैको पनि इसारामा चल्दैनौं । यदि टिकटक प्रतिबन्ध भएमा सामाजिक सञ्जालको दुनियाँमा सीमित कम्पनीहरुमात्रै शक्तिशाली हुनेछन् भने हजारौं अमेरिकीले रोजगार गुमाउनेछन्’, उनले भने ।
यता डमोक्र्याट सांसद हेकिम जेफ्रिजले विधेयकको स्वागत गर्दै भनेका छन्, ‘तथ्यांक दुरुपयोगबाट वैदेशिक हस्तक्षेपलाई स्वागत गर्न अमेरिकाले सक्दैन । अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षा गर्नु हाम्रो दायित्व हो ।’
रिपब्लिकन र डेमोक्र्याट दुबैतर्फका केही सांसदले यो विधेयकको विरोध गरेका छन् । यसअघि रिपब्लिकनबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा टिकटक प्रतिबन्धको प्रयास गरेका थिए । तर रिपब्लिकनका सहयोगकर्ता जेफ यसको समेत केही स्वामित्व बाइट डान्समा रहेकाले उनी पछि हटेका थिए । युवा मतदातालाइ आकर्षित गर्ने माध्यम टिकटक रहेकाले चुनावको सम्मुखमा प्रतिबन्ध लगाउन नहुने माग कतिपय डेमोक्र्याट सांसदहरुको छ ।
बाइट डान्सले यदि कम्पनी बेच्न चाहेमा लगानीकर्ताहरुले उसको मूल्यांकन स्वीकार्न नै कठिन हुनेछ । बाइट डान्सले टिकटकको मुल्यांकन २६८ अर्ब अमेरिक डलर तोकेको छ । यो मूल्यांकनले लगानीकर्ताहरुले तर्सिएका छन् । सन् २०२० मा ट्रम्प प्रशासनले बिक्रीको प्रस्ताव गर्दा त्यसको मूल्यांकन ५० अर्ब डलर तोकिएको थियो ।
विज्ञापनबाट टिकटकको आम्दानी अहिले ह्वात्तै बढेको छ । यो वर्ष टिकटकले अमेरिकाबाट मात्रै ८.६६ अर्ब डलर कमाउने प्रक्षेपण गरिएको छ । सन् २०२० मा यसले १ अर्ब डलर आर्जन गरेको थियो ।
गुगलबाट संसारको जासुसी गरेर टिकटकसँग तर्सिएको अमेरिका
अमेरिकी सांसदहरूले टिकटक प्रतिबन्धका लागि मात्रै आवाज उठाएका छैनन् । गुगल, मेटा र एप्पलबाट विदेशमा रहेका गैर अमेरिकीमाथि जासुसीको कानुन बनाउन खोजिरहेका छन् ।
फिसा भनेर चिनिने विदेशी खुफिया निगरानी विधेयकको संशोधन अमेरिकाले पास गरिसकेको छ । यस विधेयकको दफा ७०२ अन्तर्गत अमेरिकी खुफियालाई विशेष जासुसीको सुविधा छ । उनीहरूले विना कुनै सूचना इमेल, फोन वा अनलाइन माध्यमबाट विदेशी नागरिकको वेपरवाह जासुसी गर्न सक्छन् ।
अमेरिकी संविधानको चौथो संशोधनले आफ्ना नागरिकलाई गोपनीयताबारे धेरै हदसम्म सुरक्षित राखेको छ ।
अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा एजेन्सी, फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन र केन्द्रीय गुप्तचर एजेन्सी (CIA) जस्ता जासुसी संयन्त्रलाई स्वतन्त्र जासुसीको अधिकार दिएको छ । अमेरिकाले विदेशी नागरिकहरूको जासुसी गर्दै आफ्ना सहयोगी मुलुक बेलायत र अष्ट्रेलियालाई पनि सूचना दिन्छ ।
विदेशीहरूको जासुसी अमेरिकाका लागि सामान्य रहेपनि अन्य राष्ट्रले विदेशको जासुसी नगरोस् भन्ने उसको चाहना छ । इन्टरनेटको आधुनिक युगमा अधिपत्य जमाएका गुगल, मेटा, माइक्रोसफ्ट, अमेजनजस्ता संस्थाहरू अमेरिकी जासुसीका लागि सहयोगी बनिरहेका छन् ।
तर, अमेरिकाले विश्वका अर्बौं मानिसहरूलाई टिकटकबाट खतरा रहेको बताइरहेको छ । अमेरिकी यो शैली जे अरूका लागि हो त्यो मेरा लागि होइन भनेझैँ रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । ‘जे नियम अरूका लागि हो त्यो मेरा लागि होइन भन्ने अमेरिकी चरित्र यहाँ पनि प्रतिबिम्बित भयो’,एसर वल्फले भने ।
अमेरिकी चिन्ता निगरानीबारे नभएर सबै सामाजिक सञ्जाललाई आफूले बलियो नियमन र नियन्त्रण गर्न पाउनुपर्ने रहेको वल्फको बुझाइ छ। ‘टिकटकबारे अमेरिकी चासो त्यसलाई आफूले नियन्त्रण गर्न पाउनुपर्छ भन्ने हो । त्यसबाट आफूले निगरानी गर्न सकियोस् भन्ने हो । सबै सामाजिक सञ्जाल अमेरिकी अधिनमा चल्नुपर्छ भन्ने अमेरिकी मनोविज्ञान छ’, वल्फले भन्छन् ।
अमेरिकी डेटा सरक्षाका लागि टिकटकले ओर्याकलसँग सहकार्य गरेर टेक्सासमा डेटा भण्डारण गरेको छ । त्यसको निगरानी अमेरिकी कर्मचारीहरूले नै गर्छन् । यद्यपि अमेरिकाका लागि टाउको दुखाइ नै टिकटकमा चिनियाँ स्वामित्व हो ।
अमेरिकाले आफ्ना सरकारी संयन्त्रहरूमा टिकटक प्रतिबन्ध गरेको छ । बेलायत, क्यानडा,बेल्जियम, डेनमार्क, न्युजिल्याण्डले पनि यसलाई पच्छ्याएका छन् ।अमेरिकी जासुसीको तथ्यांक केलाउँदा सन् २०२१ मा उसले २ लाख ३२ हजार ४३२ जना विदेशीहरूको जासुसी गरेको थियो ।
अमेरिकी नागरिक स्वतन्त्रता संघका अनुसार अमेरिकाले सन् २०११ यता संसारका एक अर्ब डेटामाथि जासुसी गरेको छ । ‘टिकटकबारे चिन्ता लिइरहेको अमेरिकाले नै अर्बौं डेटामाथि अनुसन्धान गरिरहेको छ’, अमेरिकी संवैधानिक कानुन जानकार जोनाथन हफेजले अलजजिरासँग भनेका छन् ।
गोपनीयताबारे अमेरिकी चिन्ता र चासो हास्यास्पद रहेको उनको भनाइ छ । ‘अमेरिकाले टिकटकबारे चलाएको बहस र लिएको चिन्ता निकै हास्यास्पद छ । आफूले डेटा संकलन गर्नु ठीक भन्ने तर्क दिँदै चीनलाई त्यसबाट रोक्न खोजिरहेका छन्’, हफेज भन्छन् ।
चीनले अमेरिकी आरोपलाई अस्वीकार गर्दै आएको छ । यदि टिकटकमाथि प्रतिबन्ध लागेमा अमेरिकी परियोजनामा लगानीका लागि सोच्नुपर्ने उसको चेतावनी छ । यसले प्रविधिमा लगानी गर्न खोज्नेहरूलाई निरूत्साहित पार्ने चीनको जवाफ छ ।
चीनले सन् २०१३ मा साइबर सुरक्षाबारे अमेरिकाले कपटपूर्ण खेल खेलेको आरोप लगाएको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीमै काम गरेका एडवार्ड स्नोडोनले अमेरिकी जासुसीबारे खुलासा गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको थियो । अमेरिकालाई टिकटक नभएर चीननै टाउको दुखाइ बनेको केही तथ्यहरूले देखाउँछन् ।
साइबर सुरक्षाका अधिकारी एफबीआईमा पुग्दा उनीहरूलाई टिकटक प्रतिबन्धको कारणबारे सोधिएको थियो । उनीहरूले चीनको जासुसीबारेको समाचारमा आएका विवरणलाई आधार मानेर प्रतिबन्धको सिफारिस गरेको बताए । त्यहाँ टिकटकबारे कुनै विश्लेषण गरिएको थिएन । ‘चीनले जासुसी गर्नसक्छ भन्ने चिन्ता जायज हो भने अमेरिकाले विभिन्न सामाजिक सञ्जालबाट जासुसी गरिरहेको छ भन्ने विषय सत्य हो’, एक सरकारी प्राविधिकले भने ।
जासुसी कानुनको दफा ७०२ लाई दुईपटक अध्यावधिक गरिएको छ। रिपब्लिकनहरूले केही प्रभावकारी परिवर्तन बिना त्यसलाई फेरि मतदानमा लान नहुने बताइरहेका छन् । गोपनीयताको सुरक्षाविना कानुन पारित गर्न नहुने पक्षमा केही डेमोक्रयाटहरू पनि छन् ।
मेटा, एप्पल र गुगलले पनि वारेन्टबारे चासो राखेको ब्लुमवर्गले समाचार लेखेको छ । कस्ता डेटा आफूहरूले उपलब्ध गराउने भन्ने जानकारी प्राप्त हुनुपर्नेमा ती कम्पनीको चासो छ । विदेशीलाई निशाना बनाइएपनि ७०२ अन्तर्गत विदेशीसँग कुराकानी गरिरहेका अमेरिकीहरू पनि निगरानीमा पर्नेछन् ।
अमेरिकी अधिकारीहरूले यो कानुन राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक रहेको तर्क गरेका छन् । नागरिक स्वतन्त्रताका वकालत गर्नेहरूले भने अमेरिकी चासो अनुसार काम गरे-नगरेकोबारे पनि अमेरिकाले निगरानी र जासुसी गर्नसक्नेबारे चिन्ता लिएका छन् । ‘आतंकवाद वा अमेरिकी राष्ट्रिय सुरक्षालाई कुनै दख्खल नपुर्याउने पत्रकार र मानवअधिकारकर्मी पनि निगरानीमा पर्न सक्ने जोखिम छ’, कानुन व्यवसायी असल्ले गोर्सी भन्छन् ।
व्यक्तिगत डेटाको सुरक्षामा अमेरिकाले वकालत मात्रै नभएर व्यवहारमा पालन नै गर्नुपर्ने केही आलोचकहरूको भनाइ छ । अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाउँदैमा सबै विषय समाधान नहुने उनीहरूको मत छ । ‘टिकटक राख्दा अमेरिकी अन्य एप्सलेझैं उसले पनि त्यही प्रकारका विवरण लिनेगर्छ । हाम्रो स्वामित्वमा रहेका प्रविधि कम्पनीहरूबाट हामीले विवरण प्रयोगझैँ उनीहरूले पनि प्रयोग गर्छन् नै । तर अमेरिकाले झैं किन खुला रूपमा भन्दैनन् ? एफबीआई एजेन्ट माइम जर्मन भन्छन् ।
कोपनहेगन विश्वविद्यालयका सूचना प्रविधिका प्राध्यापक भेदान सेकरा भन्छन्, ‘टिकटक प्रतिबन्ध राजनीति प्रेरित छ । यदि उनीहरू असल नियतपूर्वक गोपनीयताबारे चिन्तित हुन् भने टिकटकमात्रै नभएर सबै कम्पनीहरूबारे बहस गर्दै नीति बनाउनुपर्थ्यो’, उनले भने । अनलाइन खबर