मनोज यादव—
सर्लाही,फाल्गुन ३०
सर्लाहीको सदरमुकाम मलंगवा बजारसहित सार्वजनिक यातायात सेवा आज बिहानैदेखि बन्द गरिएको छ।
मलंगवा नगरपालिका वडा न-९ स्थित रहेको राजदेबी मन्दिर (फुलमत माता) मा केही अज्ञात ब्यक्तिहरुले तोडफोड गरेको विषयलाई लिएर आज (बुधबार) बिहानैदेखि मलंगवा बजार बन्द गरिएको हो।
मलंगवा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको सिमानामा पर्ने झिम नदी नजिकै रहेको राजदेवी मन्दिरमा मंगलबार राती करिब साढे ७ बजेको समयमा केही अज्ञात ब्यक्तिहरुले मन्दिर भित्र रहेको देवी देवताको तश्विर र फुलमत माताको शक्तिपिठ(पिंढी)मा तोडफोड गरि क्षति पुर्याएको विषयलाई लिएर यहाँका आक्रोशित स्थानीय युवाहरुले यातायात सेवासहित बजार बन्द गराएका थिए।
घटनाको विरोधमा उत्रिएका सयौं स्थानीय युवाहरु बिहान मोटरसाइकल जुलुस निकालेर नारावाजी गर्दै बजार बन्द गराउँदै हिंडेका थिए। बन्दको प्रभाव सार्वजनिक सवारीसाधनमा पनि परेको थियो।
मलंगवादेखि ग्रामीण भेगमा चल्ने केही टेम्पु,म्याजिक र टाँगा दिनभर चलेका थिए भने लामो तथा छोटो दुरीमा चल्ने बसहरु भने अपराह्न ३ बजेपछि मात्र संचालनमा आएका थिए।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएको छ।
दुवैजनालाई हिरासतमा राखेर अनुसंधान भइरहेकोले आपसी सद्भाव विथोल्ने खालका कुनैपनि कार्य नगर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले स्थानीयहरु सँग आग्रह गरेको छ।
दिउँसो जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरु घटना स्थलको निरिक्षण समेत गरेका छन् ।
नगरको ठाउँ ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएकोले कुनै किसिमको अप्रिय घटना नभएको प्रहरी प्रवक्ता एवं डिएसपी थारुले जानकारी गराएको छ।