थुनुवालाई महाकाली पारिबाट लिइयो नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको मृत्यु भएको छ।
३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे लडेर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले सेतोपाटीलाई जानकारी दिए। चौधरी कैलालीका हुन्।
जवरजस्ती करणी मुद्दामा गत फागुन २१ गते महाकाली नगरपालिका वडा नम्बर १ का उमेशसिंह कुँवर पक्राउ परेका थिए। उनीमाथि मुद्दा शाखामा सोधपुछ चलिरहेको थियो। त्यही बेला उनी हतकडीसहित भागेका थिए।
भागेका कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडिबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगे। उनको टाउकोमा चोट लागेको थियो।
केहीबेरमा जवान चौधरीको मृत्यु भएको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।
यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ। सेतोपाटी