Loktantra Khabar National Weekly
Ad

स्रोत नखुलेको ३८ लाख बढी रुपैयाँसहित तीन जना पक्राउ

लोकतन्त्र खबर
२८ फाल्गुन २०८०

बाँकेमा स्रोत नखुलेको ३८ लाख बढी रकमसहित तीन जना पक्राउ परेका छन्।

आइतबार बेलुकी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ सुर्खेत रोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका-२ की २५ वर्षीया पूर्णिमा चौधरी, राजापुर नगरपालिका-१ का २० वर्षीय अनुप थारू र नेपालगञ्ज-१६ जैसपुरका ३६ वर्षीय हसिब अहमद जसगढ छन्।

उनीहरूबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सेतोपाटीलाई बताए।

प्रहरी निरीक्षक निरञ्जन घिमिरेका अनुसार पक्राउ परेका पूर्णिमाले बोकेको झोलाबाट १६ लाख ९४ हजार रुपैयाँ र अनुपले बोकेको झोलाबाट २१ लाख ६९ हजार रुपैयाँ रकम बरामद भएको थियो।

उनीहरूलाई भरियाको रूपमा रकम ओसारपसारमा प्रयोग गर्ने हसिब रहेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक घिमिरेले बताए।

पूर्णिमा र अनुप नेपालगञ्जमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनीहरू हसिबको कार्यालयमा सहयोगीको रूपमा काम गर्थे।

स्रोतका अनुसार हसिबमाथि हुण्डीको कारोबार गर्दै आएको आरोप छ।

नेपालगञ्ज-४ न्यूरोडमा भित्री सटर भाडामा लिएर हुण्डीको कारोबार गर्दै आएको भन्ने सूचना पाएपछि लामो समयदेखि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

राष्ट्रिय अनुसन्धान विभागको टोलीले पनि हसिबमाथि अनुसन्धान गरिरहेको थियो।

घटनामा संलग्न एक जना फरार रहेको प्रहरी स्रोतले जनाएको छ।

‘झन्डै २५ लाख पैसा बोकेका युवक भागेको भन्ने अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भने, ‘भागेका व्यक्तिको खोजी जारी छ।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: