
संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै सोमबार सार्वजनिक बिदा दिएकोमा बौद्धमार्गीहरूले विरोध गरेका छन्।
ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइसकिएको बौद्धमार्गीहरूले बताएका छन्।
‘शेर्पाहरूको महान चाड २१५१ औं ग्याल्पो ल्होसार यस वर्ष गत माघ २७ गतेका दिन नै परेको भएता पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोलाई आधार मानेर नेपाल सरकारले फागुन २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी समग्र हिमाली बौद्धमार्गीहरूको चाड पर्वको तिथि नै भ्रममा पारिएको छ,’ गृह मन्त्रालयलाई बोधार्थ दिएर शेर्पा संघ ताप्लेजुङले आइतबार नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई आगामी दिनमा पात्रो बनाउँदा नेपाल बौद्ध महासंघको समन्वयमा मात्रै बनाउन पनि उनीहरूले आग्रह गरेका छन्।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले गत वर्ष नै आज (फागुन २८ गते) का लागि बिदा निर्धारण भएको बताए।
‘वर्षभरकै बिदाहरू निर्धारण गर्दा यो बिदा पनि समावेश भएको हो, अहिले निर्णय भएको होइन,’ उनले सेतोपाटीसँग भने, ‘यो दिन हाम्रो चाड होइन भनेर उहाँहरूबाट पनि कुनै औपचारिक जानकारी आएन।’
तर ताप्लेजुङका चार संस्थाले गृह मन्त्रालयलाई बोधार्थ दिँदै आइतबार नै बिदा नदिन ध्यानाकर्षण गराएका थिए। सेतोपाटी