लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन २२
ढिलो गरि उत्पादन हुने तोरी लगायतका बालीमा लाही किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
लाही किराले तोरी बालीमा अहिलेसम्म करिब अस्सी प्रतिशत नोक्सानी भएको किसानले बताए ।
सर्लाहीसहित मधेशका अधिकांश जिल्लामा अहिले फूल लागेको र फल्न लागेको तोरी जातमा लाही किराको धेरै प्रकोप देखिएको छ ।
गत असोज महिनादेखि यता पानी नपरेको तथा निकै कडा घाम पनि नलागेको कारण लाही किराको अनुकूल मौसम हुन पुगेको किसानहरुको अनुमान रहेको छ ।
लाही किराले खाएको तोरी राम्रो नहुने, दाना मसिनो हुने तथा कतिपय अवस्थामा पुरै बाली सखाप समस्या देखिएको छ । लाही किराले बालीलाई सखाप पारिरहँदा पनि हेरिरहनु बाहेक कुनै विकल्प नभएको किसानहरुको दुःखेसो छ ।
लाही किराबाट जोगाउन तोरीमा खरानी छर्ने गरे पनी खासै फाइदा नभएको किसान जोगिन्दर रायले बताए ।